‘रुसले विश्वकै पहिलो कोरोना खोप बनायो’

एजेन्सी – रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल भएको छ। रुसको सेचेनोभ युनिभर्सिटीले गरेको कोरोना खोपको पहिलो चरणको परीक्षण सफल भएको हो।

खोप केहि स्वयंसेवकहरुमा परीक्षण गरिएको र त्यसले सफल परिणाम दिएको इन्स्टिच्युट अफ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीले जनाएको छ।

इन्स्टिच्युटका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण गरेको दावी गरेका छन् ।

बताइएअनुसार, उक्त खोप रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले तयार पारेको हो। जुन १८ देखि देखि दुई समूहमा गरिएको परीक्षण सफल भएको तारासोभको दावी छ।

उनका अनुसार परीक्षणमा सहभागी स्वयंसेवकहरुको पहिलो समूहलाई यहि हप्ता डिस्चार्ज गरिनेछ भने दोस्रो समूहलाई आउने हप्ता डिस्चार्ज गरिनेछ। पहिलो चरणको परीक्षणले खोप प्रयोगको लागि सुरक्षित छ भनेर देखाएको इन्स्टिच्युटका उच्च अधिकारीहरुले दावी गरेका छन्।

विश्वका विभिन्न देशहरुमा कोरोना भाइरस संक्रमण विरुद्धका खोपहरु बारे अनुसन्धान भइरहेको छ। चीन, बेलायत, रुस, भारत तथा अमेरिकामा कोरोना खोप निर्माणमा जुटेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा निर्माण भइरहेको खोप सबै भन्दा उत्तम हुने देखिएको छ। तेस्रो चरणको परीक्षणमा रहेको उक्त खोप छिट्टै प्रयोगमा आउन सक्ने विश्वास गरिएको छ।

प्रकाशित : आइतबार, असार २८, २०७७१३:३७

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण: चिठीमार्फत आएको बेनामे उजुरीले यसरी गर्यो पर्दाफास !