काठमाडौँ – मयूर यातायात आफ्नो सेवा दिन शुरु गरेको छ। मयूरले सोमबारदेखि उपत्यकाभित्र र काभ्रेको बनेपासम्म आफ्नो सेवा दिन शुरु गरेको हो।
सार्वजनिक यातायात व्यवसायीहरुले यथास्थितिमा बस नचलाउन नसकिने बताइरहेका बेला मयुरले भने सेवा दिन शुरु गरेको हो। सरकारले तोकेको मापदण्डअनुसार आजैदेखि ६ वटा बसमार्फत सेवा दिन थालिएको मयूर यातायातले जनाएको छ।
कम्पनीका अध्यक्ष मोहन श्रेष्ठ अनुसार काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई बस र रिङगरोडमा ४ वटा बस चलाउन थालिएको छ। सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जनामात्रै यात्रु राखिने उनले बताए।
व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले सार्वजनिक यातायात संचालनमा ल्याउने निर्णय गरेको भन्दै व्यवसायीहरु आन्दोलनरत छन्। व्यवसायीहरुले आफ्नो माग पूरा नभए सम्म सार्वजनिक यातायात संचालन नगर्ने अडान राखेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यातायात मजदुर र आम यात्रुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्णतालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने र बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत विभिन्न माग यातायात व्यवसायीका छन्।