काठमाडौँ – गालीगलौज नरोकिए फिल्मीकर्मीहरुले कानुनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। सोमबार नेपाली चलचित्रसँग जोडिएका विभिन्न ७ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रियामा जाने चेतावनी दिएका हुन्। चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लिल प्रतिक्रिया आएको विषय प्रति आफूहरुको ध्यानाकर्षण भएको फिल्मीकर्मीहरुले जनाएका छन्।
“केही दिनयता सामाजिक सञ्जाल लगायत केही सञ्चार मध्यमहरुबाट केही चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वातालाई लिएर आरोप, प्रत्यारोप, विवाद, गालीगलौज र अशिष्टताको पराकाष्टा नाघेको देखिएकाले नेपाली चलचित्र उद्योगसंग सम्बन्धित पेशागत संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।”,नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघले संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
अभिव्यक्ति स्वतन्त्रता संविधानले नै दिएको हुँदा अभिव्यक्ति दिएकै भरमा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्न कसैले पनि नमिल्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,”सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनिय मात्र होइन, अक्षम्य पनि हुन्छ ।”