काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीका कारण नेकपा सखाप हुने बताएका छन्।
सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङ बोल्ने क्रममा खनालले पार्टी तथा सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पार्टी सखाप हुने बताएका हुन्।
अहिले ओलीले सरकार चलिरहेको तरिकाले नेकपालाई जनताले पत्याउन छाड्ने उनको भनाई छ। उनले ओलीको कारण जरैबाट उखलिन सक्ने बताए।
“अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ। त्यसरी ५ वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ।”,उनले भने। पार्टी र सरकार संचालन बारे नयाँ ढंगले नसोच्ने हो भने कम्युनिस्ट पार्टीले ७१ वर्षमा हाँसिल गरेका सम्पूर्ण उपलब्धी गुम्ने उनको भनाई छ।
“कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ।‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ।”,उनले भने।
यस्तै खनालले पार्टीलाई ओलीले एकलौटी ढंग संचालन गर्दै आएको पनि बताए। ओलीले पार्टीका हरेक निर्णय गर्दा पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्दै आएको उनको आरोप छ।
पार्टी भित्र अहिले देखिएको विवाद ओली गुट र पार्टी बीचको संघर्ष रहेको उनले स्पष्ट पारे। ओलीले सत्तामा टिक्नको लागि पार्टी फुटाउने खोजेको पनि उनले आरोप लगाए।

