ड्रागन खेतीमा जमेका पूर्व मन्त्रीको खुलासा – ‘प्रचण्ड-बाबुरामले खानलाउन नजान्ने भन्दै हेपेका थिए’

काठमाडौँ – पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन नजान्ने भनेर पार्टीका शीर्ष नेताहरूले हेपेको आरोप लगाएका छन्।

सोमबार सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस राख्दै उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा आफू माथि गरेको व्यवहार बारे खुलासा गरेका हुन्।

पोखरा एअरपोर्टमा प्रचण्ड र बाबुरामसँग भीआइपी कक्षमा रहेका बेला आफूले लगाएको पुरानो थोत्रो जकेटलाई लिएर प्रचण्ड र बाबुरामले लगाउन,खान र चल्न नजान्ने भनेर आलोचना गरेको विष्टमगरको आरोप छ।

“मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो!”,उनले फेसबुकमा लेखेका छन्। उक्त घटना बारे खुलासा गर्दा उनले पार्टी भर्खरै शान्तिप्रकृयामा आएको बेलाको रहेको र आफूसँग खासै पैसा नभएको समेत उल्लेख गरेका छन्।

“आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो।”,उनले लेखेका छन्,”आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भनननन…चक्कर आयो, तर,सम्हालिएर बसेँ र अडिएँ। यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो : मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु, धत् मोरा! भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो।”

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७०४:०२

पहिरोले खोस्यो खुशी: कसैको विदेश जाने सपना पहिरोमा बिलायो, कसैको परिवार नै लुट्यो !