अयोध्यापुरी बारे अनुसन्धान हुने, पुरातत्व विभागले उत्खनन गर्ने !

काठमाडौँ – पर्सा स्थित ‘अयोध्यापुरी’को उत्खनन गरिने भएको छ। वीरगञ्ज पश्चिममा पर्ने ‘अयोध्यापुरी’को पुरातत्व विभागले उत्खनन गर्ने भएको हो।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीले अयोध्यापुरी नै सक्कली अयोध्या रहेको बताएसँगै पुरातत्व विभागले त्यस बारे चासो देखाएको छ। त्यस क्षेत्रमा अध्ययन र उत्खनन गर्ने तयारीमा पुरातत्व विभाग छ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमै अयोध्यापुरी नै अयोध्या रहेको बताएसँगै अनुसन्धान गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ। सरकारबाट निर्देशन आए लगतै अनुसन्धान गर्ने विभागको तयारी छ।

अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको लागि ठूलो बजेट लाग्ने विभागको भनाई छ। उक्त क्षेत्रमा अनुसन्धानका लागि सरकारले निर्देशन र बजेटको व्यवस्था गरिएलगतै उत्खननको कार्य शुरु गर्न सकिने विभागले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ। केहिले ओलीको यस किसिमको अभिव्यक्तिले नेपाल-भारतको सम्बन्ध बिगार्ने बताइरहेका छन् भने केहिले ओलीको अभिव्यक्तिलाई समर्थन गर्दै वास्तविकता बारे अनुसन्धान गरिनुपर्ने बताइरहेका छन्।

सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रामको जन्मभूमी अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने बताएका थिए। भारतले विवादित अयोध्या खडा गरेको र सांस्कृतिक अतिक्रमण गरेको ओलीको भनाई थियो।

प्रकाशित : बुधबार, असार ३१, २०७७०८:५२

अमेरिकामा निर्माण भइरहेको कोरोनाको खोप परीक्षण अन्तिम चरणमा !