काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्तिलाई लिएर भारतमा चर्को आलोचना भएको छ। भारतीय संचार माध्यम, राजनीतिक नेता तथा धार्मिक व्यक्तित्वहरु यति बेला ओलीको आलोचनामा उत्रिएका छन्।
धार्मिक तथ्यलाई तोड-मोड गरेर ओलीले राजनीति गर्न खोजेको आरोप ओली माथि लागेको छ। ओलीको भनाईलाई भारतीय धार्मिक गुरुहरु रुष्ट भएका छन्। उनीहरु विश्वभर रहेका रामभक्तको भावना माथि प्रहार भएको बताइरहेका छन्।
राम र अयोध्या बारे ओलीको अभिव्यक्ति पश्चात भारतीय संचार माध्यमहरु जनकपुर र लुम्बिनी पहिला भारतको रहेको बताउन थालेका छन्। उनीहरु अंग्रेजका कारण मात्रै नेपालले जनकपुर र लुम्बिनी पाएको दावी गरिरहेका छन्।
अवध विश्वविद्यालयका चीफ प्राध्यापक तथा भारतीय इतिहास-पुरातत्व विभागका प्रो. अजय प्रताप सिंहले रामको ससुराली अर्थात सिताको जन्मभूमि अंग्रेजहरुको कृपाले नेपालले पाएको दावी गरेका छन्।
एक भारतीय संचार माध्यममा अन्तर्वार्ता दिँदै उनले कुनै समयमा जनकपुर भारतको हिस्सा रहेको र सन् १८१६ मा अभाएको सुगौली सन्धिपछि अंग्रेजको कृपाका कारण नेपालले पाएको बताएका हुन्। भगवान बुद्धको जन्मभूमि लुम्बिनी पनि अंग्रेजकै कारण नेपालले पाएको उनको दावी छ।
“जनकपुर भारतको हिस्सा थियो। सन् १८१६ मा भएको सुगौली सन्धि पस्चात्न उक्त भूमि नेपालले प्राप्त गरेको हो। जनकपुर मात्र नभई भगवान बुद्धको जन्मभूमि लुम्बिनी पनि अंग्रेजको कृपाले पाएको थियो।”,उनको भनाई छ।
भारतीय संचार माध्यमहरु जनकपुर र लुम्बिनी भारतको थियो भन्दैगर्दा सुगौली सन्धिका कारण भारतले नेपालको ठूलो क्षेत्र प्राप्त गरेको थियो भन्ने तथ्य भने लुकाइरहेका छन्।
ओलीको अभिव्यक्तिलाई पनि भारतीय मिडियाहरुले चिनियाँ उक्सावटको रुपमा प्रचार गरिरहेका छन् भने सत्ता जोगाउन ओलीले चालेको चाल बताइरहेका छन्।