चिनियाँहरुलाई प्रवेशाज्ञा भिसा बेचेपछि …

काठमाडौं, अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा भिसा बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ। यो समाचार आजको अन्नपुर्णपोस्टमा प्रकाशित छ।

विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन नातेदार भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ। ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन। मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिनेरनदिने निर्णय गर्छ। काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालयबाहिर गरेको देखिएको छ। उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन्।

विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले अन्नपूर्णसँग भने।

काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए। उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ। निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ।

भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ। त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो। कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ। तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७०१:५७

आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप ठप्प !