भारतमा ४ दिनमै भेटिए १ लाख २० हजार संक्रमित,बुधबार बन्यो नयाँ रेकर्ड !

काठमाडौँ – भारतमा दैनिक कोरोना संक्रमणमा ह्वातै वृद्धि भएको छ। बितेको ४ दिनमै त्यहाँ १ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।

बुधबार मात्रै त्यहाँ ३२ हजार ६ सय ८२ कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो संख्या एकै दिन भेटिएका कोरोना भाइरस संक्रमितको अहिले सम्मकै ठूलो संख्या हो।

आइतबार पछि मात्रै भारतमा १ लाख १९ हजार ८ सय ११ जना संक्रमित फेला परिसकेका छन्। भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ७० हजार १ सय ६९ पुगेको छ।

भारतमा बुधबार मृत्यु संख्यामा पनि उच्च वृद्धि भएको छ। त्यहाँ बुधबार ६ सय १४ जनाको ज्यान गएको छ। यो संख्या एकै दिन भारतमा संक्रमितले ज्यान गुमाएको दोस्रो ठूलो संख्या हो। भारतमा अहिले सम्म २४ हजार ९ सय २९ जनाको ज्यान गैसकेको छ।

भारतमा सक्रिय संक्रमितको संख्या भन्दा निको हुनेको संख्या उच्च छ। भारतमा फेला परेका कुल कोरोना भाइरस संक्रमित मध्ये ६ लाख १३ हजार ७ सय ३५ जना निको भइसकेका छन्। जबकी भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ३१ हजार ५ सय ५ मात्रै छ। त्यस मध्ये करिब ९ हजारको अवस्था गम्भीर छ।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७०३:३५

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा …