यदि यस्तो भयो भने रियल आजै च्याम्पियन बन्नेछ…

एजेन्सी – लिग तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बिहीबार लिग च्याम्पियन बन्ने प्रबल सम्भावना छ ।स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदा रियलले आफ्नो खेल जितेमा लिग उपाधि जित्नेछ ।

उपाधि, शीर्ष चार र रेलिगेसन जोनमा रहेका टोलीको खेल फरक समयमा हुदा नतिजा प्रभावित हुन सक्ने भएका कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ । शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । रियलले घरेलु मैदानमा भिल्लारियलको आतिथ्यता गर्दैछ । खेल अल्फ्रेडो डि स्टेफानोमा नेपाली समय अनुसार राति १२ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

रियल घरेलु मैदानमा भिल्लारियललाई पराजित गर्दै एक खेल अगावै यो सिजनको ला लिगाको उपाधि जित्ने दाउमा हुनेछ । कोरोना पछिको सबै ९ खेलमा शतप्रतिशत जित निकालेको रियल सोही जितको लयलाई निरन्तरता दिदै ३४औं पटक ला लिगाको उपाधि जित्ने योजनामा हुनेछ ।

जितले रियल एक खेल बाँकी छदै ला लिगाको च्याम्पियन बन्नेछ । बराबरी या हारले भने बार्सिलोनाको नतिजा र रियलकै अन्तिम खेलको नतिजा नै कुर्नुपर्ने हुन्छ । सोही दिन नै बार्सिलोना ओसासुनासँग पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ । रियल र बार्सिलोना दुवै टोली आज रातिको खेलमा बराबरी या पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ ।

भिल्लारियलविरुद्ध उच्च लयमा रहेको करिम बेन्जेमा, कप्तान सर्जियो रामोस, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, फेडरिको भाल्भेर्डे, मार्काे एसेन्सियो, फरल्यान्ड मेन्डी, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रियललाई हुनेछ ।

यता, भिल्लारियल पनि घरेलु टोलीलाई स्तब्ध पार्दै रियलको उपाधि यात्रा लम्ब्याउदै अंक तालिका सुधार गर्ने योजनमा हुनेछ । भिल्लारियल युरोपा लिगको छनोटनजिक रहेको छ ।

भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जो, सान्टी कार्जाेला, जेरार्ड मोरेनो र मोइ गोमेजजस्ता खेलाडीले रियललाई रोक्न सक्नेछ ।
रियल ८३ अंक जोडेर शीर्षस्थानमा रहँदा भिल्लारियल ५७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१०:२८

बार्सिलोनालाई पीएसजीको उत्कृष्ट ‘अफर’ : नेयमारको सट्टामा यी खेलाडी माग्यो !