बस्तीको दुवैतिर अत्यासलाग्दो पहिरो: ‘सरकार कि अहिल्यै मारिदेऊ कि त बस्ती सारिदेऊ’

सिन्धुपाल्चोक – बस्तीको दुवैतिर अत्यासलाग्दो पहिरो, बस्तीको शिरमाथि ‘सिरानमाथि झुन्डिएको जाँतो’ झैं गरी बसेको छ बडेमानको ढुंगा । विकट गाउँ जुगल गाउँपालिका–२ नाम्फाका स्थानीय भगवान् भरोसामै बसिरहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

‘अत्यास लाग्ने गरी पहिरो खसेको छ, गाउँमाथि बडेमानको ढुंगा खस्न ठिक्क परेको बसेको छ’, नाम्फा गाउँका हरिशरण सिलवाल भन्दै थिए– ‘गाउँ नै धरापमा पर्यो, ज्यान जोखिममा भो ।’

भूकम्पमा ढलेको घर जसोतसो ठडियो । दुःखले बनाएको बास नै पहिरोले बगाउन लागेपछि ७० वर्षीया होमकुमारी सिलवाल डिलमा बसेर पहिरो नियालिरहनुभएको थियो । ‘कति बेला बगाउँछ ठेगान छैन, कति बेला म-रिन्छ थाहा छैन ।’ –होमकुमारीले त्रासमिश्रित गुनासो पोख्नुभयो ।

२६ असारको बिहानीपख पहिरो खसेर नाम्फा भेगको झन्डै २ सय रोपनी खेतीयोग्य जग्गा खण्डहर बनाइदियो । घर भित्र्याउनुपर्ने मकैबाली माटोमै मिलेको छ । जाने कतै ठाउँ छैन, पहिरोले बस्ती नै उच्च जोखिममा परेपछि डेढ सय घरका नाम्फाली ‘मृ-त्यु कुरेरै’ बसिरहेका छन् ।

‘सरकार !, मृ-त्यु कुरेर कतिञ्जेल बसौं, कि त अहिल्यै मा-रिदेऊ कि त बस्ती सारिदेऊ ।’ –स्थानीय शिक्षक शिव सिलवाल भन्नुहुन्छ । जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भन्दै तत्काल बस्ती सार्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोपावरले बस्तीमुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तीमुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिएका थिए । बस्तीमुनि सुरुङ नखन्न अनुरोधसहित निवेदन दिए पनि आफूहरुको आवाज सुनुवाइ नभएको स्थानीय पेसलाल तामाङले बताउनुभयो ।

‘बस्तीमुनि सयौंचोटि बम पड्काएको छ, बम पड्काउँदा भुइँचालो आएजस्तो हुन्थ्यो’, पेसलाल भन्नुहुन्छ– ‘घरबास उठ्ने भयो, ज्यान जोखिममा पर्ने भयो भनेर सीडीओलाई निवेदन दियौं तर हाम्रा कुरा कसैले सुनेनन् ।’ राजनीतिक दलका स्थानीय अगुवाले हाइड्रोपावरसँग मिलेर माथि बस्ती नै छैन भनी बस्तीमुनि सुरुङ खन्न लगाएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७०३:४७

संघियताले खोक्रो बनाउँदै देश: ऐन मिच्दै लाखौं रकम बाँडफाँड, जनप्रतिनिधि लिन्छन् दोहोरो सुविधा !