नेकपामा विवाद कायमै: ‘प्रचण्ड–नेपालः राजिनामा दिनुहोस्, ओलीः दुवै पदबाट दिन्न’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले फेरी पुरानै रुप पकाड्न थालेको छ । एक पक्ष राजिनामा माग्ने र अर्को पक्ष दिदै दिन्न भन्ने अडानमा अडिग रहेपछि नेकपाभित्रको विवाद फेरी सतहमा आउने देखिएको हो । ‘युद्धविराम’को अवस्थामा देखिएको विवाद पुनः शुरु हुने भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच भएको भनिएको सहमतिलाई बरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेपछि मुद्दा फेरी राजिनामा आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार भएको अध्यक्षद्वय ओली, प्रचण्ड र बरिष्ठ नेता नेपालबीचको छलफलमा फेरि प्रधानमन्त्री पद छाडनुपर्ने प्रस्ताव आएको छ ।

‘प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा प्रचण्ड र नेपालले राख्नुभयो, अध्यक्ष ओलीले पार्टी एकता गर्दा कायम रहेको अध्यक्ष र प्रधानमन्त्री पद त्याग्ने कुरा संभव छैन भन्ने राख्नुभयो,’ भेटबार्ताको निश्कर्ष सुनाउँदै नेकपाका एक नेताले भने । अध्यक्ष प्रचण्ड नेता नेपालसहित अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग बार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

यसबीचमा ओली र प्रचण्डबीच ६ पटक भेट भएपनि नेताहरुले पार्टी नफुटने र विवाद समाधान हुने दुवै पक्षले बताउदै आएका छन् । तर, मुद्दा पुरानै अवस्थामा फर्किएको कतिपय नेताको बुझाई छ । बालुवाटारको वार्तामा प्रचण्ड–नेपालले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिन दबाव दिएका छन् । उनिहरुले कुटनीतिक र राजनीतिक रुपमा सरकार असफल भएको, छिमेकी भारतसँगको सम्बन्ध विगारेको जस्ता गम्भिर आरोप लगाएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले पनि दुवै नेतालाई स्पष्ट रुपमा जवाफ दिएको बताइएको छ । उनले प्रधानमन्त्री चाहिएको भए अर्को निर्वाचन कुर्न र अध्यक्ष चाहिएको भए चाडो महाधिवेशन गराउन सुझाव दिएका थिए । बीचैमा आफुहरुलाई हटाउन चाहेको भए विधान अनुसार कदम चालेर निर्णय गराउन चेतावनी दिएका छन् । दुवै नेताले राजिनामा नदिए कारवाहीसम्मको चेतावनी दिएको स्रोतले दावी गरेको छ ।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७०४:०४

मन्त्री मगरको लालसा, निर्मित संरचना कमजोर हुँदा फुट्यो मेलम्ची सुरुङ !