भोलिदेखि सार्वजनिक यातायात चल्ने !

काठमाडौँ – यातायात व्यवसायीहरु भोलि सोमबार देखि सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन्। सरकारले गरेको निर्णय अनुसार व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका हुन्।

यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन्। सोमबार बिहान देखि यातायात सञ्चालन गर्न राजी भएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए।

चैत ११ देखिको लकडाउनबाट प्रभावित भएको यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएको बुझिएको छ।

सरकारले तत्कालका लागि ५० प्रतिशत भाडा वृद्धि गरी छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरेको भएपनि यातायात क्षेत्रलाई राहत प्याकेज दिनुपर्ने भन्दै ठूला व्यवसायीले गाडी चलाएका थिएनन् ।

महासङ्घले यही अवस्थामा सार्वजनिक सवारी सञ्चालन गर्ने नसकिने भन्दै भाडा वृद्धिको विरोध गरेको थियो । तर, आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले सोमबारबाट यातायात सञ्चालन गर्ने गरी तयारी थालेको छ ।

छोटो दूरीका यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयुर यातायात, संयुक्त, महानगर, साझा यातायातले सेवा सुरु गरिरहेका छन् । ट्याक्सी तथा टेम्पो पनि सञ्चालन भएका छन् ।

प्रकाशित : आइतबार, साउन ०४, २०७७०८:५३

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु !