एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएको छ । उपाधि दिने फ्रान्स फुटबलले एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको छ ।
पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता घोषणा गर्न आवश्यक रहेको आधारहरु न्यायोचित रुपमा पर्याप्त नरहेको बताउँदै रद्द गर्ने निर्णय लिएको जनाएको छ । कोरोना संक्रमणका कारण केहि लिग रद्द हुँदा केहि लिग छोटो समयमा धेरै खेल गरेर समापन गरिएको छ ।
यस वर्ष उपाधि विजेता घोषणा नहुने भएपछि गतवर्षको विजेताले नै एक वर्षसम्म उक्त उपाधि राख्न पाउनेछन् । गतवर्ष बार्सिलोनाका कप्तान मेस्सी उत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । अमेरिकाकी मेगन रापिनो उत्कृष्ट महिला खेलाडी बनेकी थिइन् । नेदरल्यान्ड तथा युभेन्टसका म्यथिस डे लिग्ट उत्कृष्ट युवा खेलाडी र लिभरपुल तथा ब्राजिलका एलिसन बेकर उत्कृष्ट गोलरक्षक भएका थिए ।
यस वर्ष पनि विगतझैं मेस्सी र रोनाल्डो उपाधिको लागि दावेदारमा थिए । यी दुईसँगै बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानचेस्टर सिटीका केभिन डे ब्रुएनलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । यस वर्ष उपाधि विजेता घोषणा नहुने भएसँगै मेस्सी र रोनाल्डोबीच उपाधि संख्याको प्रतिस्पर्धामा रोनाल्डो ५ उपाधिसहित मेस्सीको छैटौं उपाधिलाई पछ्याइरहेका हुनेछन् ।
ब्यालोन डी’ओर आयोजकले यस उपाधि उत्कृष्टता मात्र नभएर एक उदाहरण, एकता र जिम्मेवारी वहन गर्ने व्यक्तित्वको प्रतिनिधित्व गर्ने बताएको छ । त्यसैले पनि बिकराल परिस्थितिमा उपाधि घोषणा गर्नु उचित नरहने फ्रान्स फुटबलले जनाएको छ ।

