देशको प्रसिद्ध एवम् ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिविवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाट करोडौं रुपियाँ गायब भएको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदनअनुसार अस्पतालको बैंक खाताबाट १६ करोड रुपियाँभन्दा बढी रकम गायब भएको तथ्य खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ।
२०७६ असार मसान्तसम्म अस्पतालको बैंक नगदी किताबमा ९८ करोड २७ लाख ७५ हजार रुपियाँ मौज्दात रहेको देखिएको भए पनि सोही मितिको बैंक स्टेटमेन्टमा भने ८१ करोड ८३ लाख ६७ हजार रुपियाँ मौज्दात मात्रै देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नगदी किताब र बैंक स्टेटमेन्टबीच फरक परेको रकम १६ करोड ४४ लाख ८ हजार रुपियाँको हिसाब कहाँ गयो भन्ने खुल्न सकेको छैन । महालेखाले फरक परेको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने सुझाव प्रतिवेदनमा दिएको छ।
यसैगरी अस्पतालले आय करसमेत कट्टन नगरी भुक्तानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा कर कट्टा गर्नुपर्ने भए पनि अस्पतालले आयकर कट्टा गरेको ६ करोड ४१ लाख १ हजार रुपियाँ दाखिला नगरी दायित्वमा देखाएको छ । उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्ने महालेखाको ठहर छ ।
महालेखाको प्रतिवेदनमा अस्पतालको नेपाल बैंकमा पाँच, नबिल बैंकमा एक र हिमालयन बैंकमा एक खाता रहेकोमा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो। तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको छ । साथै ग्लोबल आइएमई बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएको छ । तर, सो बैंकमा कारोबार भएको जनाइएको छ ।

