गोदावरीका भित्री सडक अवरुद्ध, केही घर जोखिमा

सांकेतिक तस्विर

गत सोमबार र मङ्गलबार दुई दिन आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिकाका भित्री सडक अवरुद्ध हुनुका साथै केही घर जोखिममा परेका छन् । अवरुद्ध सडक र जोखिममा परेका घरको भने लागत सङ्कलन गर्ने काम भइरहेको नगरपालिकाका सम्बन्धित व्यक्तिले जनाएका छन् ।

गोदावरी–१ गोदामचौर छिर्ने हाँडीगाउँ सडक अवरुद्ध हुँदा हाल दैनिक यात्रामा समस्या भइरहेको वडाध्यक्ष हरिहर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको एक घरमा पहिराले असर गरेको छ । धानबालीमा पानीको भेल पस्दा केही धानखेतमा नोक्सान गरेको छ ।” मूलपानी चउर नजिकै रहेको सिद्धीगणेश मन्दिरको जमिन बाढीले भासेर समस्या भइरहेको कार्कीले जानकारी गराउनुभयो ।

ललितघुम्ती सडक ठाउँठाउँमा पहिरो खसेर विशङ्खुनारायण थानका केही स्थानमा असर परेको नं २ का वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “यही असार ५ गते आएको पानीको भेलले केही स्थानका जमिन कटान गरी जताततैबाट बाटो बनाएर बग्दा २० देखि २५ घरपरिवारलाई क्षति पु¥याएको छ ।”

साविकको गोदावरी नहर क्षेत्रमा सडक भत्किएर आवतजावतमा समस्या भइरहेको नं ३ वडाध्यक्ष बालमुकुन्द घिमिरे बताउनुभयो । उहाँले भन्नुभयो, “खोलाको पानीले नजिकै रहेको धानखेत छिचोलेर बग्दा केही धानबाली नोक्सान भएका छन् ।” लेले थापागाउँका पाँच घरपरिवार विस्थापित हुने भएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको भेलले सडकका ग्राभेल बगाउनुका साथै लेले भञ्ज्याङ छिर्ने मुख्य सडकमा नै माटो खसेर अवरुद्ध भइरहेको छ ।”

देवीचौरका ३ देखि चार घर बस्न नहुने अवस्थामा पुगेका नं ७ वडाध्यक्ष गिरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका अलवा यहाँका अन्य थप १२ घर चर्किएका छन् ।” गाउँमा रहेको तरकारी सङ्कलन केन्द्रमा लगाएको तारजाली पानीले बगाउँदा पुनःहाल्नुपर्ने भएको तिमिल्सिनाले जानकारी दिनुभयो ।

छम्पीका चारदेखि पाँच घर पहिराका कारण धरापमा परेका ९ नं का वडाध्यक्ष आत्माराम थापा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका सिँचाइ क्षेत्रमा पहिरो खसेर पुरिएको छ ।” गत सोमबारको वर्षाले चापागाउँ केही क्षेत्रमा माटो खासाल्नुका साथै बाली नोक्सान गरी कुखुराको टहरासमेत भत्काएको नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले बताउनुभयो ।

पहिराले थेचोको एक घरमा क्षति पु¥याइ सडकमाथिका पर्खाल भत्काउनुका साथै नख्खु खोला आसपासमा रहेका धानबालीसमेत बिगारेको नं १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले बताउनुभयो । वर्षात्ले झरुवारासीका १६ देखि १७ घर जोखिममा पारेको नं १३ का वडाध्यक्ष भाष्कर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका दुई घर अन्यत्र सार्नुपर्ने कुरा उठिरहेको छ ।” झरुवारासीमा उत्पादन गरिएका तरकारीका टनेलका साथै केही ठाउँका पर्खालसमेत मर्मत गर्नुपर्ने भएको थापाले बताउनुभयो ।

गत असार ५ र ६ गते आएको अविरल वर्षात्ले गोदावरीका १४ वटै वडामा कति नोक्सान भयो भन्ने लागत सङ्कलनको काम जारी रहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोअस्तिको वर्षात्ले गोदावरीमा कुनै मानवीय र चौपायमा भने क्षति भएको छैन । क्षतिको सम्पूर्ण विवरण नगरपालिकामा आएपछि पीडित जनतालाई के सहयोग गर्ने भन्ने विषयमा छलफल गरी त्यसैअनुरुपको राहत वितरण गर्नेछाँै ।” गत वर्षको असार साउनको वर्षात्मा क्षति भोग्न बाध्य जनतालाई गोदावरीले रु २४ देखि २५ लाखको राहत सामग्री सहयोग गरेको अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१३:२७

मनसुन कमजोर बन्दै, तर जोखिम टरिसकेको छैन