एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण अहिले विश्व प्रभावित छ। एक दर्जन बाहेकमा सम्पूर्ण मुलुकमा कोरोना भाइरस संक्रमण पुगेको अवस्था छ। जसकारण अहिले विश्वभरमा नागरिक आफ्नो दैनिकी परिवर्तन गर्न बाध्य छन्।
कोरोनाका कारण काम गर्ने शैली, यात्रा गर्ने शैली मात्र नभई शिक्षा प्रणाली पनि परिवर्तन भइरहेको छ। कोरोना संक्रमणको जोखिम नहोस् भन्नको लागि अहिले अनलाइन शिक्षाको अवधारणालाई विश्वभर अङ्गीकार गरिँदैछ। अनलाइन शिक्षाका लागि आवश्यक हुने आधारभूत प्रविधि हुने-खानेलाई त खासै ठूलो कुरा भएन, तर हुँदाखानेलाई भने यसले ठूलो पिर थपेको छ।
अनलाइन शिक्षाकै कारण निम्नआय भएको वर्ग कति सम्म पिडित बनेका छन् भन्ने कुरा भारतको एक घटना उदाहरण बनेको छ। घटना हो, भारत हिमाचल प्रदेश स्थित पामपुर जिल्लाको। त्यहाँ एक पिता आफ्ना सन्तानको अनलाइन शिक्षाकै लागि गाई नै बेच्न बाध्य भएका छन्।
द ट्रिब्यूनका अनुसार गाई बेच्न बाध्य पिता पामपुर जिल्ला स्थित ज्वालामुखीको गुम्मर गाउँका कुलदीप कुमार हुन्। लकआउटका कारण उनका सन्तानहरु पढ्ने विद्यालयहरु बन्द भए। त्यसले उनलाई खासै फरक परेन। तर, उनी त्यतिबेला अफ्ठेरोमा परे जब विद्यालयले अनलाइन कक्षा संचालनमा ल्यायो। उनीसँग न इन्टरनेटको पहुँच थियो, न त इन्टरनेट चल्ने स्मार्टफोन।
विद्यालयबाट लगातार दबाव पश्चात उनी आफ्ना सन्तानहरुका लागि स्मार्टफोनको व्यवस्था गर्ने निर्णयमा पुगे। उनले विभिन्न ठाउँमा ऋण लिने कोशिस गरे। उनी बैंक देखि निजी ऋणदाता सम्म पुगे। तर, उनलाई कसैले पत्याएन। अन्ततः बाध्य भएर उनी आफ्नो एक मात्र आयश्रोतको रुपमा रहेको गाई बेच्न बाध्य भए। उनले गाई भारु ६ हजारमा बेचे, आफ्ना सन्तानहरुको लागि स्मार्टफोनको जोहो गरे।