“विभिन्न अपराधमा जनता र कानूनले माफ नगरेका बाबुरामले महाभियोगको कुरा गर्न मिल्दैन”

काठमाडौँ – पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएकी सरिता गिरीले विभिन्न अपराधबाट मुक्त हुन नसकेकाहरुसँग न्यायाधीश विरुद्ध महाभियोगको माग गर्ने कुनै अधिकार नभएको बताएकी छन्। गिरीले जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै यस्तो बताएकी हुन्।

भट्टराईले शुक्रबार एक ट्वीट गर्दै सशस्त्र प्रहरीका पूर्व डीआइजि रञ्जन कोइरालाको सजाय कटौती गर्ने सर्वोच्चको फैसलाको कडा विरोध गरेका थिए। उनले फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाउन माग समेत गरेका थिए। जसलाई लक्षितगर्दै सरिता गिरीले शुक्रबार साँझ विभिन्न अपराधबाट मुक्त भइनसकेकाहरुले महाभियोगकोकुरा गर्न नमिल्ने बताएकी हुन्।

“जुन व्यक्तिहरु स्वयं ह-त्या, हिं-सा र अपराधका लागि जनता र कानून बाट मुक्ति पाएका छैनन,उनीहरुलाई न्यायाधीश विरुद्ध महाभियोगको मांग गर्नका लागि कुनै राजनैतिक र नैतिक अधिकार छैन।”,गिरीले ट्वीटरमा लेखेकी छन्।

साथै गिरीले जनता समाजवादी पार्टी विरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाभियोगको धम्की दिएको हुन सक्ने पनि शंका व्यक्त गरेकी छन्।

अस्तित्वमा नै नरहेको तत्कालीन समाजवादी पार्टीले आफूलाई कारबाही गर्न नसक्ने र त्यो कारबाही कानुन विपरित भएको भन्दै उनी सर्वोच्च पुगेकी थिइन्। सोहि विषयलाई जोड्दै गिरीले उक्त मुद्दा कम्जोर बनाउन महाभियोगको धम्की दिएको हुन सक्छ भनेकी हुन्।

“हुन सक्छ जनता समाजवादी पार्टी विरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाभियोग को चर्चा हाल न्यायालय लाई भयभीत पारी दबाव हाल्नका लागि फालेको महज एउटा कार्ड हो ।”,गिरी ट्वीटरमा लेख्छिन्।

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७१४:३०

आजबाट शुरु भयो इम्बोस्ड नम्बरप्लेटको वितरण !