काठमाडौं । ‘केपी ओलीले दुवै पदक छोड्नुपर्छ । यसलाई निकालेर बालकोट पठाउन पाउनु पर्छ भन्ने तपाईको माग हो भने त्यो पुरा हुँदैन । तर, पार्टी जोगाउन म कम्प्रोमाइज गर्न तयार छु । त्यो कम्प्रोमाइज के हो, छलफल गरौं’,साउनको पहिलो साता चार नेता साथमा राखेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भनेका थिए । बालुवाटारमा त्यो दिनको भेटमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन पनि सहभागी थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
त्यसको दुई दिनसम्म लगातार भएको अध्यक्षद्वयबीचको छलफलमा ‘अर्लि महाधिवेशन’मा जाने सहमति बन्यो । प्रधानमन्त्री ओलीले छलफलमा मलाई हटाउने नै हो भने चाँडो महाधिवेशन गरौं भन्ने प्रस्ताव राखेका थिए । प्रचण्डले चाँडो भनेको कहिले हो भनेर प्रश्न राखेपछि ओलीले केन्द्रीय कमिटीले चैत्रमा गर्ने भनिसकेको छ, सम्भव भएसम्म चाडै गरौं, सकिन्छ भने मंसिरमा गरौं भनेर प्रस्ताव गरे । प्रचण्डले सो प्रस्ताव स्विकार गरे । तर, उनले त्यसबाट आफु एकल अध्यक्ष बन्ने लिखित ग्यारेन्टी हुनुपर्ने प्रस्ताव राखे ।
ओली र प्रचण्डबीच महाधिवेशनबाट अध्यक्षमा प्रचण्डलाई सहयोग गर्ने र पाँच वर्ष नै ओलीले सरकार चलाउने मौखिक सहमति कायम गरे । त्यसलाई लिखित रुप दिने र सचिवालय बैठकबाट स्थायी कमिटीमा लगेर बैठक नै टुंगोमा पु¥याउने सहमति बन्यो । त्यसपछि साउन ३ गते सचिवालय बैठक बोलाइयो । सचिवालय बैठकमा पनि बहुमत सदस्यले महाधिवेशनको विषयमा समर्थन गरे । तर, प्रचण्डसँग ओलीलाई हटाउने विषयमा सहकार्य गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले नमान्ने घोषणा गरे ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले महाधिवेशनबारे राखेको प्रस्तावमाथि बोल्दै अर्का अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि मिलेर जानुको उपयुक्त विकल्प नै यही भएको बताएका थिए । उनले त्यसमा सहमति जुटाएर अघि बढ्न अरू सचिवालय सदस्यहरूलाई पनि आह्वान गरेका थिए । तर, नेता नेपालले नेतृत्व नै परिवर्तन गर्ने नियतले यो प्रस्ताव आएको हो भने महाधिवेशनमा किन जाने ? केन्द्रीय कमिटी बैठकबाट किन टुंगो नलगाउने ?’ भनेर प्रश्न राखे ।
सचिवालयमा बहुमतले महाधिवेशनमा जाने निर्णयजस्तै भएपनि त्यसलाई लिखित बनाइएन । महाधिवेशनको खाका बनाउने जिम्मा दुई अध्यक्षलाई दिइयो । प्रचण्ड एकल अध्यक्ष हुने दाउमा रहेको र विगतमा ओलीबाट धोका पाएकाले यो विषय राष्ट्रपतिको अगाडी बसेर लिखित सहमति गर्नुपर्ने शर्त उनले राखे । उनकै आग्रहमा महासचिव पौडेलले शितल निवासमा टेलिफोन गरी समय मिलाएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले नै समय माग गरेपछि अरु कार्यक्रम रद्द गरेर समय दिएको स्रोतको दावी छ । प्रचण्डकै आग्रहमा जनार्दन, शंकर पोखरेललाई पनि लैजानुपर्ने बताए । पाँचै जना नेता राष्ट्रपति भवन शितल निवास पुगे र एक घण्टापछि बाहिरिए । सहमति अनुसार नै दुवै नेताहरुले पार्टीको विवाद र भएको छलफलको जानकारी गराए । राष्ट्रपतिले पनि यस्ता विषयमा आफुलाई विवादमा नतान्न आग्रह गरेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
त्यसक्रममा प्रचण्डलाई वरिष्ठ नेता नेपालको टेलिफोन आईसकेको थियो । नेपालले टेलिफोनमा स्पष्ट शब्दमा प्रचण्डलाई आफुहरुलाई धोका दिएको भनेका थिए । तपाई र प्रधानमन्त्री ओलीबीच चोचोमोचो गरेर सहमति भएको भए त्यो आफुहरुलाई मान्य नहुने बताए । त्यसपछि प्रचण्ड निक्कै दोधारमा परे । यता, सहमति गरिसकेको र उता गुटका साथीहरुले धम्क्याउन थालेपछि उनले आफ्नै स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाललाई फोन गरेर कुनै पनि सहमति नभएको भनेर स्पष्टिकरण दिन लगाए ।
आइतवारसम्म आइपुग्दा प्रचण्ड ओलीसँग गरेको सहमतिबाट ‘यु–टर्न’ भईसकेका थिए । खुमलटारस्थित आफ्नै निवासमा झलनाथ खनाल, नेपाल, नारायणकाजी श्रेष्ठलगायत करिब दर्जन स्थायी समिति सदस्यसामु उनले भने,‘हिजो (शनिबार) को बैठकमा महाधिवेशनको प्रस्तावमा आलोचना गर्न नसक्नु र नरम रूपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो । तर, म तपाईंहरूको साथमै छु । निश्चिन्त हुनुहोस्, ओलीजीसँग मैले कुनै सहमति गरेकै छैन ।’ उनले परिबन्दमा परेर शितल निवास जानुपरेको पनि सुनाए । साथै ‘जनताको बहुदलिय जनबाद’ माने एकल नेतृत्व दिने प्रस्ताव आएको पनि बताए ।
आइतवार विहान भएको भेटघाटको समाचार व्यापक भईसकेको थियो । सो खवर प्रधानमन्त्री ओलीसमक्ष पनि पुग्यो । विहान ११ बजे तय भएको भेटमा प्रचण्ड गएनन् । तर, साँझ ४ बजे उनि ओलीलाई भेट्न बालुवाटार पुगे । ओलीले प्रचण्डसँग विहान गुटको भेटमा भएको भेलाका विषयमा सोधेका थिए । प्रचण्डले आफुमाथी गुटका साथीहरुले आरोप लगाउदै पदसँग विचार सट्यो भनेर गाली गरेको सुनाए । उनले घुमाउरो पाराले सो सहमति मान्न नसक्ने संकेत गरे ।
प्रचण्डको भनाईपछि ओलीले स्पष्ट रुपमा उनलाई दुई वटा सन्देश दिएको स्रोतको भनाई छ । ओली निकट एक नेताले दिएको जानकारी प्रचण्डलाई प्रधानमन्त्री ओलीले तपाईमा नेतामा हुने गुण नदेखेको बताउदै जे निर्णय गर्न सक्नु हुन्छ गर्नुहोस् भनेका छन् । ‘प्रचण्डजी तपाईं यत्रो ठूलो पार्टीलाई लिड गर्ने मान्छे तर योग्यता राख्नु हुन्न रहेछ’, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘लिडरहरू असहमतिमा पनि कतिपय कुरा पचाएर अघि बढ्छन् । आक्रमणलाई पचाउँछन् । तपाईंंमा नेतामा हुने गुण देखिनँ मैले । यस्तो मान्छेले यति ठूलो पार्टी कसरी चलाउँछ ? म फ्रस्टेड भएँ ।’
प्रधानमन्त्री ओली त्यत्तिमै रोकिएनन् उनले अझ स्पष्ट शब्दमा प्रचण्डलाई आफ्नो बाटो क्लियर गर्न आग्रह समेत गरे । ‘म अब आफ्नो बाटो लाग्छु । तपाईं आफ्नो बाटो लाग्नुस् । तपाईंले चाहे जसरी सक्नुहुन्छ भने मलाई निकाल्नस् । म तपाईंलाई स्पष्ट शब्दमा भन्छु, केन्द्रीय कमिटी, स्थायी कमिटी, संसदीय दल, सचिवालय कतै पनि तपाईंको बहुमत पुग्दैन । कोही पनि साथीहरू एकताको विपक्षमा छैनन्’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
त्यसपछि पनि दुई अध्यक्षबीच छलफल भएपनि त्यो त्यत्ति धेरै सकरात्मक नबनेको र पार्टी विवाद पहिलेकै अवस्थामा रहेको नेताहरुले बताएका छन् । बिचमा बनिसकेको सहमति प्रचण्डले नमानेपछि भंग भएको र दुवै अध्यक्ष आ–आफ्नो अडानमा यथावत रहेको उनीहरु निकट नेताहरुले बताएका छन् ।