काठमाडौँ – विश्वभर एकै दिन २ लाख ८९ हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार विश्वभर अहिले सम्मकै बढी २ लाख ८९ हजार २८ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन्।
कोरोनाबाट अतिप्रभावित मुलुकको रुपमा रहेको अमेरिकामा शुक्रबार ७८ हजार ९ संक्रमित फेला परेका छन्। त्यहाँ अहिले सम्म संक्रमितको संख्या ४२ लाख ४८ हजार ३ सय २७ पुगेको छ। अमेरिकामा अहिले सम्म कोरोना संक्रमणका कारण १ लाख ४८ हजार ४ सय ९० जनाले ज्यान गुमाएका छन्। जस मध्ये १ हजार १ सय ४१ जनाले शुक्रबार ज्यान गुमाएका हुन्।
यस्तै दोस्रो अतिप्रभावित मुलुक ब्राजिलमा बितेको दिन ५८ हजार २ सय ४९ नयाँ संक्रमित फेला परेका छन्। अहिले सम्म त्यहाँ कोरोना संक्रमितको संख्या २३ लाख ४८ हजार २०० पुगेको छ। ब्राजिलमा अहिले सम्म ८५ हजार ३ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्।
बितेको २४ घण्टामा ४८ हजार ८ सय ९२ नयाँ संक्रमित थपिएपछि भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ। भारतमा अहिले सम्म ३१ हजार ४ सय ६ जनाको ज्यान गएको छ।
कोरोना जित्नेको संख्या एक करोड नजीक
विश्वभर कोरोना भाइरस संक्रमण जित्नेको संख्या १ करोड नजिक पुगेको छ। विश्वभर अहिले सम्म ९७ लाख १६ हजार ९ सय ७१ जनाले कोरोना जितेका छन्। यस हिसाबले विश्वभर ६० प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
यो समाचार तयार पार्दा सम्म विश्वासभर ६ लाख ४१ हजार ८ सय ८५ जनाले ज्यान गुमाएका छन्। यो संख्या ४ प्रतिशत हुन आउँछ। विश्वभर अहिले करिब ३६ प्रतिशत सक्रिय संक्रमित छन्।