काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को लक्षणसहितका संक्रमित फेला पर्न थालेका छन्। कोरोना संक्रमण शुरु भएको कयौं महिना सम्म कोरोनाका लक्षण नदेखिएका बिरामी फेला पर्दै आएको भएता पनि अहिले भने लक्षणसहितका संक्रमित फेला पर्न थालेका हुन्।
पछिल्ला केहि दिनहरु देखि पर्सा, रौतहटसहितका जिल्लामा फेला परेका संक्रमितहरुमा लक्षण देखिएको छ। नयाँ सङ्क्रमितहरुमा उच्च ज्वरो, निमोनिया जस्ता लक्षणहरु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेयता देशभर ४ सय ८९ जना कोरोनाका नयाँ संक्रमित भेटिइसकेका छन्। जस मध्ये धेरैमा लक्षण देखिएको छ। बताइएअनुसार, हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार नयाँ संक्रमितहरुमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण देखिन थालेको छ।
संक्रमितमा कोरोनाको लक्षण देखिनुले जोखिम थपिएको स्वास्थ्यविद्हरु बताउँछन्। लक्षणविहीन संक्रमित भन्दा लक्षण भएका संक्रमितबाट भाइरस छिटो भाइरस सर्न सक्ने भएका कारण पनि यसले थप जोखिम बढाउने स्वास्थ्यविद्हरुको भनाई छ।
नेपालमा कोरोना भाइरस देखिएको पाँच महिनासम्म ९८ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएको थिएन। सरकारले लकडाउनको अन्त्य भएको घोषणा समेत गरिसकेको छ। तर, लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि नेपालमा कोरोनाको जोखिम थप बढेर गएको छ।

