नेकपा विवाद उत्कर्षमा: ओलीले टेलिफोन गरेर बोलाए पनि प्रचण्ड जान मानेनन् !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असार १० गतेबाट पाँचौं स्थायी कमिटी बैठक ७ वटा एजेण्डा लिएर छलफल शुरु भयो । बैठकको तीन दिन सदस्यले कोभिड–१९ का विषयमा आ–आफ्नो धारणा राखे । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

१३ गतेपछाडी १७ गते बैठक राखियो । त्यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत आफ्नो सरकार ढाल्न लागिपरेको एक सार्वजनिक कार्यक्रममा बताए । उनले त्यसमा नेकपाका कुनै पनि नेता तथा सांसद लाग्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि तरंग उत्पन्न भयो । उनको सो अभिव्यक्तिलाई भारतका सञ्चारमाध्यमले पनि प्रमुखताका प्रशारण गरे । नेकपा नेताहरुले आफुहरुलाई भारतमुखी भएको प्रधानमन्त्रीले आरोप लगाएको भन्दै मार्ग प्रस्तत गर्न बैठकमा आग्रह गरे ।

१७ गतेको बैठकमा ७ वटा एजेण्डालाई छाडेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजिनामा माग गरे । त्यसपछि नेकपाभित्र प्रधानमन्त्री समेत रहेका पहिलो वरियताका अध्यक्ष ओलीको राजिनामाको विषय उठ्यो । सरकार र पार्टीको कामको समिक्षा नै नगरी नेताहरुले राजिनामा माग गरेपछि ओली पनि बैठकमा चिढिए । त्यसबाट नेकपाको विवाद उत्कर्षमा पुग्यो ।

विवाद निक्कै अगाडीबाट शुरु भएपनि त्यसले चरम उत्कर्षमा भने १७ गतेको बैठकमा पुगेको थियो । प्रधानमन्त्री ओलीले पनि आफु दुवै पदबाट राजिनामा नदिने बरु जे निर्णय गर्नसक्नु हुन्छ गर्नुहोस् भनेर प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाललाई चुनौति दिए । दुई पक्षबीच अडान परित्याग नभएपछि सहमतिका लागि दुई अध्यक्षलाई जिम्मेवारी दिइएको थियो ।

त्यसपछि पटक पटक गरे स्थायी कमिटी बैठक स्थगित हुदै आएको छ । कहिले दुई दिन, कहिले एक दिन त कहिले साता दिनसम्म स्थगित हुदै आईरहेको छ । स्थायी कमिटी सदस्यहरुले पनि दुई अध्यक्षलाई मिल्नका लागि समय दिएका थिए । यसबीचमा दूई पटक सहमतिको नजिक पुगेका अध्यक्षद्वय अहिले भने असार १७ गतेकै अवस्थामा आईपुगेका छन् ।

प्रधानमन्त्री ओलीले सहमतिका लागि भन्दै यसबीचमा अर्लि महाधिवेशन वा मंसिर ४ गतेको सहमति कार्यान्वय गर्ने विकल्प दिएपनि प्रचण्डले त्यसमा अडान लिन सकेनन् । ओली पक्षिय नेताहरुका अनुसार वार्तामा सहमति गर्ने तर बाहिर गएको केही समय पछि नमान्ने गर्नुले उहा कुनै कुरामा अडिन सक्नुहुदो रहेनछ भन्ने पुष्टि भएको बताए ।

पटक पटक बैठक स्थगित गर्दा पनि सहमति नबनेपछि मंगलबारको बैठक भने सुचारु गर्ने पक्षमा प्रचण्ड–नेपाल पक्ष पुगेको छ । तर, ओली पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बरु यसविचमा छलफलका लागि ओलीको गरेको आग्रहलाई प्रचण्डले अस्विकार गरेका छन् । लगातार दुई दिन प्रधानमन्त्री ओलीले भेट्न खोज्दा दाहालले ‘बालुवाटार आउन नसक्ने’ जवाफ दिएका छन् ।

एक साताका लागि स्थगित स्थायी कमिटी बैठकको दिन नजिकिएपछि प्रधानमन्त्री ओलीले आइतबार बिहान टेलिफोन गरेर भेट्न आग्रह गरेका थिए । उनले स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जवाफ दिएका हुन् । सोमबार विहानपनि प्रधानमन्त्री ओलीले टेलिफोन गरेर आउन आग्रह गरेका थिए । तर, प्रचण्डले घाटीमा समस्या रहेकाले नआउने जवाफ दिएको प्रचण्डका एक निकट नेताले जानकारी दिए । घाटीमा समस्या भएको बताएका प्रचण्ड बैठकका विषयमा सोमबार विहान नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामुहिक, उपाध्यक्ष बामदेव गौतमसँग उनै निवास र रामबहादुर थापा ‘बादल’सँग भने छुट्टा छुट्टै छलफल गरेका छन् ।

स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल हुने सम्भावना समेत रहेको नेताहरुले बताएका छन् । पछिल्लो एक सातामा एक दिन भएको ४५ मिनेटको भेटवार्ता लगत्तै प्रचण्डले ओलीमाथी गम्भिर आरोप लगाएपछि विवाद समाधान तर्फ नरहेको स्पष्ट भएको थियो । भेटवार्ता लगत्तै पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डले ओलीले नै निर्वाचन आयोगमा एमाले पार्टी दर्ता गराएकाले पार्टी संकटपूर्ण अवस्थामा पुगेको बताए । त्यसपछि दुई अध्यक्षबीच अहिलेसम्म संवाद हुन सकेको छैन ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७०२:१२

कहिले खुल्छ लाइसेन्स आवेदन ? यस्तो छ यातायात व्यवस्था विभागको तयारी !