उपत्यकामा ३ सय भन्दा बढी सक्रिय संक्रमित, पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने !

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्ला केहि दिन देखि कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ। मंगलबार मात्रै उपत्यकामा ५३ जना संक्रमित थपिएका छन्। मंगलबार थपिएका संक्रमितहरु काठमाडौँका ४८ जना, ललितपुरका ४ र भक्तपुरक १ जना छन्।

मंगलबार थप पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ सय ७८ पुगेको छ। अहिले सम्म उपत्यकामा १५ हजार २४ जनाको स्वाब परीक्षण भएको छ। उपत्यकामा जिल्ला अनुसार सबै भन्दा धेरै काठमाडौँमा ३ सय ३७ जना कोरोना संक्रमित फेला परेका छन् भने ललितपुरमा कोरोना संक्रमित संख्या ८९ जना र भक्तपुरमा ५२ पुगेको छ।

मंगलबारको नयाँ पुष्टि सँगै उपत्यकामा सक्रिय संक्रमित संख्या ३ सय ६ पुगेको छ। सक्रिय संक्रमितहरुको पाटन अस्पताल,टेकु अस्पताल लगायतका कोरोना अस्पतालमा उपचार भइरहेको छ। केहीलाई भने खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पतालका आइसोलेसन सेन्टरमा राखिएको छ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै उपत्यकामा लगातार संक्रमितको संख्या वृद्धि भैरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ पुष्टि भएका केही संक्रमित उपत्यकाका स्थानीय र ‘ट्राभल हिस्ट्री’ नभएका समेत छन्।

यसरी ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा कोरोनाको पुष्टि भएसँगै उपत्यकामा समुदायमै कोरोना फैलिएको हो कि भन्ने आशंका उत्पन्न भएको छ। तर, स्वास्थ्य मन्त्रालय भने समुदायमा फैलिनसकेको दाबि गर्छ।

उपत्यकामा लकडाउन

उपत्यकामा लगातार संक्रमित संख्या बढ्दै गए पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणको लागि सार्वजनिक गरेको मापदण्ड अनुसार जिल्लामा २ सय बढी सक्रिय संक्रमित भएको अवस्थामा पुनः लकडाउन गर्न सकिन्छ।

उपत्यकामा सक्रिय संक्रमित संख्या ३ सय नाघेको भएपनि अहिले नै लकडाउन गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयको विश्लेषण छ। उपत्यकामा संक्रमितहरूलाई व्यवस्थापन गर्न सकिने अवस्था सम्म लकडाउन नगरिने मन्त्रालयले जनाएको छ। यधपी संक्रमित संख्या बढ्दै गएको अवस्थामा भने पुनः लकडाउन गर्न बाध्यात्मक परिस्थितिको शिर्जना हुन सक्छ।

परीक्षण बढाउन विज्ञहरुको सुझाव

उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि विज्ञहरुले परीक्षण बढाउन सुझाव दिएका छन्। मन्त्रालयले पनि ‘मास टेस्टिङ’ को नीति अघि सारेको छ। उक्त नीति अनुसार उपत्यकामा दुई हप्तामा ४५ हजार जनाको परीक्षण गरिनेछ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७१५:०७

अब लघुवित्तले ३ महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने, यति भन्दा धेरै ब्याज पनि लिन नपाउने