ईश्वरराज ढकाल, काठमाडौं
निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन् । कोभिड–१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सञ्चालन गरेका विद्यालयबाट समेत शिक्षक निष्कासित गरेको जानकारी दिनुभयो ।
इस्टुले देशैभरका निजी विद्यालयमा कार्यरत शिक्षकको अवस्थाबारे जानकारी लिने क्रममा करिब ३ सय शिक्षक निष्कासित भएको तथ्याङ्क संकलन गरेको हो । अध्यक्ष थापाका अनुसार सबैभन्दा बढी काठमाडौंमा शिक्षक निष्कासित भएका छन् ।
काठमाडौमा २६ जना शिक्षक निष्कासित भएको जानकारी दिँदै यो संख्या अझै बढी हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार ललितपुरमा २१, झापामा १०, मोरङमा ११, सुनसरीमा ९, सप्तरीमा १२, चितवनमा ६, बाँकेमा १७, सुर्खेतमा ४, लमजुङमा १० जना शिक्षक निष्कासित भएका छन् । इस्टुले निष्कासित शिक्षकलाई तत्काल काममा लगाउन विद्यालयलाई दबाब दिएको छ ।
एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा विद्यार्थी नै आउने कि नआउने अनिश्चित भइरहेको बेला केही दिनका लागि शिक्षकलाई बिदा दिनु ठूलो विषय नभएको बताउनुभयो । विद्यालय नै बन्द गर्ने अवस्था आएपछि शिक्षक र कर्मचारीलाई राखिरहनु औचित्यहीन देखिएकाले केही दिनका लागि बिदा दिएको हुन सक्ने उहाँको भनाइ छ । तर इस्टुले भनेजस्तो शिक्षकहरु निष्कासित नगरेको उहाँको दाबी छ ।
सरकारले विद्यार्थी भर्ना शुरु गर्ने र अनलाइन कक्षाको शुल्क लिने विषयमा निर्णय नगरेसम्म समस्या समाधान हुन नसक्ने देखिएको छ । यस्तै अवस्था भए अधिकांश साना स्कुल बन्द हुने अवस्थामा रहेको निजी विद्यालय सञ्चालकको आँकलन छ ।
यस्तो अवस्थामा परिथितिमा अनलाइन कक्षा सञ्चालन गरिरहेको अवस्थामा शिक्षकलाई हटाएर विद्यालयको गम्भीर गल्ती गरेको बताउँदै इस्टुका अध्यक्ष थापाले हटाइएका शिक्षकलाई तत्काल पुनर्बहाली नगरे आन्दोलनमा जानुको विकल्प नभएको तर्क राख्नुभयो । भन्नुभयो– ‘केही विद्यालयले त पढाइरहेका शिक्षकलाई हटाएर गम्भीर अपराध गरेका छन् ।’
तथ्याङ्कअनुसार लमजुङमा १०, पर्सामा १३, कञ्चनपुरमा ६, भक्तपुरमा ५, रुपन्देहीमा ११, भोजपुरमा ९, सिन्धुलीमा ६, अर्धाखाँचीमा १३ शिक्षकलाई हटाइएको छ ।

