नेयमारको विकल्पमा यी खेलाडी माथि बार्सिलोनाको नजर !

एजेन्सी – नेयमार फिर्ता ल्याउन बार्सिलोना गत वर्ष देखि प्रयासरत छ। बार्सिलोनाले गरेका अहिले सम्मका प्रयासहरु सफल हुन सकेका छैनन्। अन्तराष्ट्रिय बजारमा नेयमारको मूल्य धेरै महँगो भएका कारण पनि अहिले बार्सिलोनालाई अफ्ठेरो भइरहेको छ। कोरोना भाइरस महामारी पछि निम्तिएको आर्थिक सङ्कटले नेयमारको फिर्तिलाई झनै कठिन बनाएको छ। जसकारण बार्सिलोना विभिन्न वैकल्पिक खेलाडीहरु बारे सोचिरहेको छ।

ग्रीष्मकालीन ट्रान्सफरमा विभिन्न खेलाडीहरु बेच्ने बार्सिलोनाको तयारी छ। नेटो, नेल्सन सेमेडो, स्यामुअल उमटिटी, जुनियर फ्रिपो, इभान राकिटिक, आर्टुरो भिडाल, उसमान डेम्बेले, मार्टिन ब्रेथवेट, कार्लेस एलेना, राफिन्हा, टोडिबो र फिलिप कोउटिन्होलाई बार्सिलोनाले बिक्रिको सूचीमा राखेको छ।

अन्तराष्ट्रिय समाचार माध्यमहरुमा आएको समाचार अनुसार नेयमारको विकल्पमा ल्याउन सकिने खेलाडी बारे बार्सिलोनाले अध्ययन थालेको छ। बताइएअनुसार, नेयमारको विकल्पमा क्रिस्टल प्यालेसका विल्फ्रेड जाहा माथि बार्सिलोनाको नजर परेको छ। विल्फ्रेड जाहा बार्सिलोना ल्याउन सके बार्सिलोनालाई नेयमार नभएपनि काम चल्नेछ।

क्रिस्टल प्यालेसमा उत्कृष्ट प्रदर्शन गरिरहेका जाहा क्लब छाडेर ठूला क्लबमा जान इच्छुक रहेको स्पष्ट भइसकेको छ। क्लबका प्रबन्धक रोय होडसनले समेत आउने सिजनमा जाहा आफूहरुसँग नहुन सक्ने बताइसकेका छन्।

प्रीमियर लिगमा हालको समयमा सबैभन्दा कुशल खेलाडी मध्ये एक रहेका जाहाको मूल्य ४५ मिलियन यूरो आसपास छ। यस हिसाबले नेयमारको तुलनामा जाहा धेरै सस्तो पर्न आउँछन्।

जाहालाई क्लबमा ल्याउन बार्सिलोनाले खेलाडी सट्टापट्टा पनि गर्न सक्ने अनुमान गरिएको छ। जाहा माथि प्रीमियर लिगकै क्लबहरुले पनि आँखा लगाइरहेको हुँदा उनी बार्सिलोना आउँछन् अथवा अन्य क्लब, समयले नै बताउनेछ।

प्रकाशित : बुधबार, साउन १४, २०७७०४:२४

बेन्जेमाको नजरमा नेयमार जस्तो ड्रिब्लिङ गर्ने सक्ने कोहि पनि छैन !