भारतलाई नेपालको जवाफ – ‘कालापानी-लिम्पियाधुरा नेपाली भूमि, आफ्नो भूमिमा आवत–जावत हुन्छ’

काठमाडौँ – कालापानी,लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै पत्र पठाएको भारतीय पक्षलाई दार्चुला जिल्ला प्रशासनले जवाफी पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयसँगको समन्वयमा दार्चुला जिल्ला प्रशासनले सीमावर्ती धारचुला प्रशासनलाई जवाफी पत्र पठाएको हो।

भारतीय पक्षले पठाएको पत्रबारे गृह मन्त्रालयमा छलफल भएको र त्यसपश्चात परराष्ट्र मन्त्रालयसँगको परामर्शमा जवाफ पठाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताएका छन्।

गृह मन्त्रालयले दिएको निर्देशन अनुरुप नै लिम्पियाधुरा, कुटि, नावी, गुञ्जी, कालापानी र लिपुलेक लगायत क्षेत्रहरु नेपालको भएको प्रष्ट पारेर पत्र पठाइएको दार्चुला प्रशासनले जनाएको छ। महाकाली पूर्वका भूभाग नेपालको भएकाले नेपालीहरु आवत–जावत गर्नु स्वभाविकै रहेको जवाफ भरतीय पक्षलाई पठाइएको छ।

केहि हप्ता अगाडी भारतको धार्चुला प्रशासनले पत्र पठाएर दार्चुला प्रशासनलाई गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा नेपालीहरुको प्रवेश भइरहेको भन्दै त्यसलाई रोक्न भनेको थियो।

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेपनि ती क्षेत्र भारतको कब्जामा छ। नेपाल सरकारले हालै कालापानी नजिक छाङ्‍रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेको छ। तर, भारतीय पक्षले कालापानी क्षेत्रमा नेपाली सुरक्षाकर्मीलाई समेत जान दिएको छैन।

कालापानी, लिपुलेक, लिम्पियाधुरा समावेश भएको नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय सुरक्षाकर्मीहरु तल सम्म आएर नेपाली भूमि कब्जा गरेर बसेका छन्।

प्रकाशित : बुधबार, साउन १४, २०७७११:१५

अब ४५०० मै कोरोना परीक्षण, पाँच घण्टाभित्र ‘रिपोर्ट’!