काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाह ढाँचा परिवर्तन गरेको छ। सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले कार्यालयबाट हुने सेवा प्रवाह ढाँचा परिवर्तन गरेको हो।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना निकालेर सेवा प्रवाह ढाँचा परिवर्तन भएको बारे जानकारी गराएको छ। परिवर्तन भएको सेवा प्रवाह ढाँचा परिवर्तन साउन १८ गते आइतबार देखि लागू हुनेछ।

सोमबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णय अनुसार सेवा प्रवाह ढाँचा परिवर्तन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
परिवर्तित ढाँचा अनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। उक्त दिन नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी लगायतका सेवा लिन सकिनेछ।
यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउनेछन् भने बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले सेवा पाउनेछन्।

बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँदा शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।
![]()

