एजेन्सी – सुशान्त सिंह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। सुशान्तकी प्रेमिका भनिएकी रीया चक्रवर्ती बारे सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले नयाँ खुलासा गरिदिएकी छन्।
सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखंडेले सुशान्त रीयासँगको सम्बन्धलाई लिएर धेरै नै तनावमा थिए भन्ने कुरा प्रमाण समेत प्रहरी समक्ष पेश गरेकी छन्। बिहार पुलिसलाई अंकिताले सुशान्तसँग भएको च्याट नै उपलब्ध गराएको बताइएको छ।
‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्त सिंहले शुभकामना दिन मेसेज गरेको र त्यसक्रममा सुशान्तले रीयासँगको सम्बन्धका कारण आफू धेरै नै तनावमा रहेको बताएको अंकिताको भनाई छ। अंकिताका अनुसार त्यस समयमा सुशान्तसँग धेरै समय कुरा भएको थियो।
“सुशान्त उक्त सम्बन्धलाई लिएर ज्यादै तनाबमा थिए। रीया सुशान्तलाई धेरै कष्ट दिइरहेकी थिइन्। त्यसैले सम्बन्ध समाप्त गर्ने सुशान्तको चाहना थिए। तर, सकिरहेका थिएनन्।”,प्रहरी समक्ष अंकिताले भनेकी थिइन्।
अंकिताले प्रहरी समक्ष उक्त समयमा भएको च्याट मात्र नभई त्यसपछि भएका सम्पूर्ण च्याट पनि बिहार पुलिसलाई उपलब्ध गराएकी छन्। यसलाई आधार बनाएर अहिले बिहार पुलिसले अनुसन्धान गरिरहेको छ।
सुशान्त सिंहको निधन पश्चात अंकिता लोखंडे दुई पटक पटना गएकी थिइन् । त्यसक्रममा उनले सुशान्तकी दिदी श्वेतालाई आफू र सुशान्तबीच भएको च्याट समेत देखिएकी थिइन्। श्वेता र अंकिता लामो समयदेखि एक–अर्कालाई चिन्छन्। सुशान्तसँग ब्रेकअप भएपश्चात पनि यी दुईबीच निकै राम्रो सम्बन्ध छ।
यसै बीच अंकिता लोखंडेले सामाजिक संजाल मार्फत ‘सत्यको जित हुन्छ’ भन्दै पोस्ट गरेकी छन्। सुशान्त र आफू बीच भएको च्याट प्रहरीलाई उपलब्ध गराएपछि उनले सत्यको जीत हुन्छ भन्दै इन्स्टाग्राममा पोस्ट गरेकी हुन्।