काठमाडौँ – दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका भनिएकी रीया चक्रवर्ती फरार भएकी छन्। आ-त्मह-त्या दुरुत्सानहको मुद्दा परेपछि उनी फरार भएकी हुन्।
सुशान्तका पिता केके सिंहले चक्रवर्ती र उनका परिवारका सदस्यहरु सहित ६ जना विरुद्ध पटना उजुरी दर्ता गराएका थिए। उनको उजुरीपछि घटनाको छानबिन गर्न तथा रियालाई नियन्त्रणमा लिन पटना प्रहरीको एक टोली रीयाको घरमा पुगेको, तर उनी त्यहाँ फेला नपरेको बताइएको छ। घरमा फेला नपरेपछि प्रहरी रित्तो हात फिर्ता हुन बाध्य भएको भारतीय संचार माध्यमहरुको भनाई छ।
प्रहरीका अनुसार उनी सम्पर्कमा पनि आएकी छैनन्। अहिले उनको खोजि भइरहेकोछ। रीया सम्पर्कबिहिन भएकै अवस्थामा रीयाको पक्षबाट सर्वोच्च अदालत एक याचिका दर्ता भएको छ। रीयाको पक्षबाट सुशान्त सिंह प्रकरणलाई मुम्बईमै छानबिन गर्न माग गर्दै निवेदन दिएको मिडियाहरुले जनाएका छन्। एक घटनाको दुई ठाउँबाट अनुसन्धान गर्न नहुने निवेदनमा उल्लेख गरिएको बताइएको छ।
के छ सुशान्तका पिताको उजुरीमा ?
आफ्नो छोरा सुशान्तलाई मायाजालमा फसाएर मानसिक रोगी समेत बनाएको सुशान्तका पिताको आरोप छ। सन् २०१९ अघि कुनै पनि प्रकारको मानसिक समस्या नरहेका सुशांत रीयाको सम्पर्कमा आएपछि कसरी मानसिक रोगी बन्न पुगे भन्ने प्रश्न सुशान्तका पिताको छ। रीयाले षड्यन्त्र रचेर सुशान्तलाई मानसिक रोगको औषधि दिई बिरामी बनाएको आरोप केके सिंहले एफआईआर दर्ता गर्दा लगाएका छन्।
“रीया चक्रवर्तीले मेरो छोरालाई फ्ल्याट सार्न उक्साएकि थिइन्। षड्यन्त्र अन्तर्गत उनले मानिसक रोगको औषधि खुवाइन्। ओभरडोज दिएर एक प्रकारले पागल नै बनाइदिइन्। रीया मेरा छोरालाई नियन्त्रणमा राखेकी थिइन्।”,सुशान्तका पिताले दर्ता गराएको एफआईआरमा भनिएको छ।
एफआईआरमा केक सिंहले आफ्ना छोरा माथि ठूलो षड्यन्त्र भएको मात्र नभई धोका समेत भएको समेत उल्लेख गरेका छन्। साथै आफ्ना छोराको बैंक खाताबाट करिब १५ करोड अज्ञात खातामा स्थानान्तरण गरिएको पनि आरोप लगाएका छन्।
पटना प्रहरी मुम्बईमा
उजुरी परेपछि अहिले पटना प्रहरी मुम्बईमा छ। बिहारबाट मुम्बई पुगेको उक्त प्रहरी टोलीले सुशान्तको बैंक एकाउण्टबाट भइरहेको कारोबारको जाँच गर्नेछ। प्रहरीले सुशान्तले पटक-पटक किन सिम परिवर्तन गर्दै आएका थिए भन्ने बारे पनि अनुसन्धान गर्ने भएको छ।