“ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिएर ईतिहास रचौं” – उद्योगमन्त्री भट्ट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताए । उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ । उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे । यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए । उनले भने,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ । उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे । उनले भने,‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो ।’

प्रकाशित : बिहिबार, साउन १५, २०७७११:५७

क्रिकेटर हार्दिक पाण्डे बने छोराको बाबु!