पछि परे रोनाल्डो: ‘गोल्डेन बुट’ जित्ने सपना चकनाचुर !

मिलान : इटालियन सिरिए फुटबलको बिहीबार बिहान खेलिएको खेल ‘लिग लिडर’ युभेन्ट्स र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुवैका लागि निराशाजनक रह्यो। उक्त खेलमा बलियो युभेन्ट्स तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी काग्लिआरीसँग २–० गोलले पराजित भयो। यो समाचार आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ।

जारी सिजनको सिरिए उपाधि यसअघि नै जितिसकेकाले पनि युभेन्ट्सका लागि उक्त नजिता ठूलो घाटाको विषय बनेन। तर, युभेन्ट्सका पोर्चुगिज स्टार रोनाल्डोका लागि भने दुःखद रह्यो। ३५ वर्षीय रोनाल्डो यो सिजन सिरिएको सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जित्ने अभियानमा थिए।

तर, काग्लिआरीसँगको खेलमा गोल गर्न नसकेपछि रोनाल्डो यो अभियानमा निकै पछाडि परेका छन्। रोनाल्डो लाजियोका खेलाडी सिरो इम्मोबाइलभन्दा चार गोलले पछाडि छन्। सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा इम्मोबाइल ३५ गोलसहित पहिलो र रोनाल्डो ३१ गोलसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेका इन्टर मिलानका रोमेलु लुकाकुले २३ गोल गरेका छन्।

जारी सिजनको सिरिएमा अब सबै टोलीले एक÷एक खेल मात्र खेल्न बाँकी छ। युभेन्ट्सविरुद्धको खेलमा काग्लिआरीका लागि लुका गाग्लियानो र जियोभानी सिमोनले एक÷एक गोल गरेका थिए। लाजियोले भने आफ्नो पछिल्लो खेलमा ब्रेसियालाई २–० गोलले हरायो। उक्त खेलमा पनि इम्मोबाइलले एक गोल गरेका थिए।

इम्मोबाइल यो सिजन सिरिएको मात्र नभई युरोपकै चर्चित पाँच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, फ्रेन्च लिग र जर्मन बुन्डेस लिगामा समेत कुनै पनि खेलाडीले यो सिजन ३५ गोल गर्न सकेका छैनन्।

ब्रेसियाविरुद्ध गोल गर्दै इम्मोबाइलले बुन्डेस लिगा क्लब बायर्न म्युनिखका प्रभावशाली खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई पछाडि पारेका हुन्। लेवान्डोवस्कीले यो सिजनको बुन्डेस लिगामा ३४ गोल गरेका छन्। अब खेल्न बाँकी एक खेलमा गोल गर्न सके इम्मोबाइलले सिरिएको अर्को कीर्तिमानसँग पनि बराबरी गर्नेछन्।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०१:२१

मेस्सी भर्सेस रोनाल्डो: तथ्यांकगत हिसाबमा रोनाल्डो भन्दा मेस्सी अगाडी !