काठमाडौं । उपत्यकामा दैनिकजसो कोरोना भाइरस (कोभिड–१९)का संक्रमित उच्चरुपमा भेटिन थालेका छन् । देशकै सबैभन्दा धेरै जनघनत्व रहेको उपत्यकामा अहिलेसम्म ५७३ संक्रमित फेला परेका छन् । लकडाउन अगाडीसम्म उपत्यकामा केही दिन बाहेक न्युन संक्रमित मात्र भेटिएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
लकडाउन खुलेलगत्तै संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । साउनको १२ गते यतामात्रै १३४ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १२ गते ७ जना, १३ गते अहिलेसम्मकै सबैभन्दा बढि ५९ जना, १४ गते २० र १५ गते ४८ जना फेला परेका छन् । कतिपयले राजधानी भित्रिने मानिसले कोरोना संक्रमण लिएर आएकाले बढेको बताउदै आएपनि तथ्यांकले त्यस्तो देखाउदैन ।
मन्त्रालयले राजधानी प्रवेश गर्ने नाकाबाट भित्रिएकाको दैनिक स्वाब संकलन गरिरहेको छ । संकलित स्वाबमध्ये परीक्षण गरिएकोमा केवल शुन्य दशमलव ६९ प्रतिशत मात्र संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार तीन वटै नाकाबाट ८ हजार ४ सय १ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये विहिवारसम्म ३ हजार ४७३ जनाको परीक्षण गर्दा २४ जना संक्रमित फेला परेका छन् ।
नागढुंगाभन्दा साँगा र फर्पिङबाट आउनेमा बढि संक्रमण देखिएको छ । नागढुंगाबाट आएका मध्ये २ हजार ३०२ को परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखिएको छ । तर, सागा र फर्पिङबाट आउने व्यक्तिमा कोरोना संक्रमणदर बढि देखिएको छ । साँगाबाट आएका ४३० जनाको परीक्षण गर्दा ११ जना र फर्पिङबाट आउने ७४१ जना मध्ये १० जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी नाका छलेर काठमाडौं छिर्नेको संख्या पनि अत्याधिक रहेको छ । उनिहरुको निगरानी नहुँदा संक्रमित व्यक्ति सिधै समुदायमा पुग्ने गरेको छन् ।
काठमाडौं उपत्यकामा भेटिएका संक्रमितलाई पनि बाहिरि जिल्लामा हालिएका कारण यहा रहेका संक्रमित भन्दा संख्या भने कम देखिएको छ । बिहीबारमात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भयो । तर तीमध्ये काठमाडौं ठेगाना लेख्ने १३ जना छन् । बाँकी बाहिरी जिल्लाको ठेगाना टिपाएका छन् । जहाँको ठेगाना टिपाएको हो त्यही गणना हुँदा समस्या अझै भयावह हुने देखिएको छ । अस्पतालले जहाँ बस्ने हो त्यहीको ठेगाना टिपाउन आग्रह समेत गरेको छ ।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बाँकी १४ जना संक्रमितको नमूना पनि अस्पतालमै संकलन गरिएको जानकारी दिए । ती संक्रमितहरू उपत्यका बाहिरबाट आएको उनले बताए । बाँकी १४ जना संक्रमितहरूमा बाराका ५ जना, रौतहटका २, सप्तरीका २ र दोलखा, गोरखा, सर्लाही, महोत्तरी र चितवनका एक÷एक जना छन् । यसरी बाहिरी जिल्लाबाट आएकाको उपत्यकामै संक्रमण पुष्टि भए पनि मन्त्रालयले संक्रमितहरूलाई सम्बन्धित जिल्लामै गणना गरेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार राजधानीमा अहिलेसम्म ५७३ जना संक्रमित फेला परेका छन् । त्यसमध्ये सुरक्षा निकायका मात्रै ३७८ जना (६५.९६ प्रतिशत) रहेका छन् । उनिहरु कोरोना नियन्त्रणका लागि अग्रभागमा खटिदै आएका र उनिको सम्पर्कमा रहेका हुन् । यद्यपी स्वास्थ्य मन्त्रालयले अहिलेसम्म समुदायमा कोरोना संक्रमण नफैलिएको दावी गरेको छ । तर, तथ्यांकले भने उनिहरुलाई कहाबाट कोरोना सर्यो भन्ने देखिन सकेको छैन ।