सिन्धुपाल्चोक – नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो ।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पुर्याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
बाढी पहिरो पीडिलाई सात लाख राहत सहयोग
सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ ।
बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको तर्फबाट जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई रु छ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो ।
राप्रपाले पीडितलाई राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । राहत वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य यसमिन ढुङ्गाना, महिला सङ्गठनका महासचिव कुमारी तामाङ र जिल्ला अध्यक्ष गोपाल श्रेष्ठलगायतकोे उपस्थिति थियो ।