काठमाडौँ – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमितको निधन भएको छ। आइसियुमा उपचाररत एक संक्रमितको शुक्रबार निधन भएको हो।

निधन हुनेमा ६५ वर्षीया महिला रहेकी छन्। उनी उच्च रक्तचापको समेत बिरामी रहेको बताइएको छ। अस्पतालका निर्देशक डा विष्णु शर्मालेका अनुसार ज्यान गुमाउने महिना तराईतिरबाट रिफर भएर आएकी थिइन्। उनी ६ साउनमा पाटन अस्पतालको आइसियुमा उपचाररत रहेको र उनको शुक्रबार ज्यान गएको बताइएको छ।
उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाडौँ उपत्यकामा ७२ र उपत्यका बाहिर २५० गरी ३२२ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए।
कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

