‘सुगौली सन्धि रद्द भयो भन्ने अनि जमिनचाहिँ फिर्ता नगर्ने ?, यो कस्तो नौटङ्की हो ?’

काठमाडौँ – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपाल कायम गर्न र भारतले कब्जा गरेको सम्पूर्ण भूमि फिर्ता गराउन सम्पूर्ण नेपालीलाई एक जुट हुन आह्वान गरेको छ। मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ग्रेटर नेपाल कायम गर्न तन, मन र धनले जुट्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका हुन्।

आजकै दिन सन् १९५० जुलाई ३१ मा नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिले नेपालको सिमाना पूर्वमा टिस्टा नदीक्षेत्रदेखि पश्चिममा सतलज नदीसम्म कायम भइसकेको देखाइरहेको हुँदा ती सम्पूर्ण भूभाग नेपालको हुने उनको तर्क छ।

“आजकै दिन सन् १९५० जुलाई ३१ मा नेपाल -इन्डिया शान्ति तथा मैत्री सन्धिले नेपालको सिमाना पूर्वमा टिस्टा नदीक्षेत्रदेखि पश्चिममा सतलज नदीसम्म कायम भइसकेको देखाइरहेको छ। तर सत्ताका धृतराष्ट्रहरूलाई यसको कुनै मतलब छैन ।”,नेपालले विज्ञप्तिमा भनेका छन्।

साथै उनले उक्त सन्धिमा भएका केहि बुँदाहरु पनि सार्वजनिक गरेका छन्। उक्त सन्धिमा नेपाल सरकार र इन्डिया सरकारको तर्फबाट ब्रिटिश सरकारका बीचमा भएका सबै सन्धिहरू , सम्झौताहरू र प्रतिज्ञापत्रहरूलाई खारेज गर्ने भनेर उल्लेख गरिएको हुँदा सुगौली सन्धिका कारण गुमेका सम्पूर्ण क्षेत्र नेपालको हुने पनि विज्ञप्तिमा दाबि गरिएको छ।

दुवै मुलुकका सर्वाधिकार सम्पन्न व्यक्तिहरूले सहीछाप गरेर सुगौली सन्धि रद्द भयो भन्ने भनिसकेपछि जमिनचाहिँ नलिने-नदिने गर्नु कस्तो नौटङ्की हो ? भन्ने फणिन्द्रको प्रश्न पनि छ।

विज्ञप्तिको पूर्णपाठ निम्न छ –

ग्रेटर नेपाल कायम गर्न तन , मन र धनले जुटौँ

आजकै दिन सन् १९५० जुलाई ३१ मा नेपाल -इन्डिया शान्ति तथा मैत्री सन्धिले नेपालको सिमाना पूर्वमा टिस्टा नदीक्षेत्रदेखि पश्चिममा सतलज नदीसम्म कायम भइसकेको देखाइरहेको छ तर सत्ताका धृतराष्ट्रहरूलाई यसको कुनै मतलब छैन ।

धारा १. नेपाल सरकार र इन्डिया सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एकअर्काको पूर्ण प्रभुसत्ता , क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

धारा ८. जहाँसम्म यहाँ उल्लेख भएका कुराहरूको सवाल छ , तिनको हकमा यो सन्धिले नेपाल सरकार र इन्डिया सरकारको तर्फबाट ब्रिटिश सरकारका बीचमा भएका सबै सन्धिहरू , सम्झौताहरू र प्रतिज्ञापत्रहरूलाई खारेज गरेको छ ।

सन्धिमा नेपालका तर्फबाट तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री मोहन शम्शेर जबरा र इन्डियाका तर्फबाट नेपालका लागि तत्कालीन इन्डियाली राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिन्हाले हस्ताक्षर गरेका छन् ।

दुवै मुलुकका सर्वाधिकार सम्पन्न व्यक्तिहरूले सहीछाप गरेर सुगौली सन्धि रद्द भयो भन्ने अनि जमिनचाहिँ नलिने-नदिने गर्नु यो कस्तो नौटङ्की हो ?
अब सम्पूर्ण नेपालीहरूले यो विडम्बनापूर्ण स्थितिको समूल अन्त्य गर्नुपर्छ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
जुलाई ३१, २०२०

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०९:२६

समुदायमाकोरोना फैलिएपछि विराटनगरमा १४ दिन लामो लकडाउन घोषणा !