काठमाडौँ – शुक्रबार देशभर कोरोनाका २ सय जना भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय २४ जनामा कोरोनाको पुष्टि भएको छ। यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३२ जना, भक्तपुरमा १ जना र ललितपुरमा ५ जना गरी ३८ जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको प्रवक्ता गौतमले बताए।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै डिस्चार्ज भएर घर फर्किनेको संख्या १४ हजार ३९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन्। त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
शुक्रबारसम्म १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन् ।

