काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले मौकाको सदुपयोग गर्न नसकेको आरोप लगाएका छन्।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार गरेको कार्यक्रममा बोल्दै पौडेलले ओली-प्रचण्डले काम गर्ने मेसो नपाएको मात्र बताएनन्, मौका पाए आफूले पाँच/दश वर्षमा मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने बताए।
“केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौका पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायापलट हुन्छ। कामको मेसो जान्नुपर्यो नि!, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ।”,पौडेलले भने।
साथै उनले सत्तारुढ नेपाल कम्युनिष्ट दलका नेता ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो योगदान धेरै भएको पनि दावी गरेका छन्।
३० वर्ष पञ्चायतसँगको लडाइँमा आफू कतै नझुकेको उल्लख गर्दै पौडेलले जीवनमा लिएका कुनै पनि जिम्मेवारी आफूले पूरा गरेरै छाडेको दावी गरे।
“मुलुकका लागि यी नेताहरूको योगदान कति छ?बरू मेरो योगदान छ। जीवनमा कुनै जिम्मेवारी लिएको ठाउँमा म चुकेको छु? ३० वर्ष पञ्चायतसँगको लडाइँमा म कतै झुकेँ?”,उनले प्रश्न गर्दै भने।
यस्तै पौडेलले नैतिक र राजनीतिक रूपमा ओली-प्रचण्डसँग फेस गर्ने हिम्मत आफूसँगै रहेको पनि बताएका छन्। कम्युनिष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्ने उनको भनाई छ। कम्युनिष्टहरूले हल्ला मात्रै गर्ने तर देश विकास गर्न भने नसक्ने उनको दावी छ।
“देशलाई निकास दिन सक्ने क्षमता मसँग छ। कम्युनिष्टले केहि गर्न सकेनन् अब कांग्रेसले केहि गर्छ भन्ने सन्देश १४ औं महाधिवेशनबाट दिनुपर्छ।”,उनले भने।