स्वास्थ्य मन्त्रालयको आग्रह – ‘६० वर्ष माथि र १२ वर्ष मुनिका घरबाहिर ननिस्कनु’

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाक्लो वस्ती भएका क्षेत्रहरुमा बस्ने जेष्ठ नागरिक र बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा रहने ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन्।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट यस्तो आग्रह आएको हो।

आइतबार देशभर २ सय ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४६ जनामा कोरोनाको पुष्टि भएको प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। आइतबारको नयाँ पुष्टिसँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ। अहिले सम्म देशभर ३ लाख ९१ हजार बढी व्यक्तिमा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

गौतमका अनुसार नेपालका ८० प्रतिशत संक्रमित निको भएका छन्। अहिले सम्म कुल संक्रमित मध्ये १४ हजार ६ सय ३जना निको भैसकेको उनले जानकारी दिए। जस मध्ये १ सय ११ जना बितेको २४ घण्टामा निको भएका हुन्।

साथै गौतमले भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला कोरोना संक्रमण मुक्त भएको पनि बताए।

प्रकाशित : आइतबार, साउन १८, २०७७१२:१७

काठमाडौंका ट्याम्पो चालकमा कोरोना देखियो !