गम्भिर अवस्थाका कोरोना संक्रमित बढे, ३६ जनाको अवस्था गम्भीर !

काठमाडौं । कोरोना भाइरसका संक्रमण देखिएकामध्ये गम्भिर अवस्थाका बिरामीको संख्या बढ्न थालेको छ । साउन १४ गतेसम्म देशभर २२ जना विरामीको अवस्था गम्भिर थियो । तर, १९ गतेसम्म आउदा यो संख्या बढेर ३६ पुगेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार अपरान्हसम्म गम्भीर हालतका बिरामीको संख्या ३६ पुगेको जानकारी दिएको छ । गम्भीर अवस्था भन्नाले सघन उपचार र भेन्टिलेटरमा राखिएका हुन् । उनिहरुलाई अन्य रोग पनि लागेको र कोरोना संक्रमण पनि भएकाले गम्भीर हालत भएको बताइएको छ । गम्भीर हालतमा रहेका बिरामी सबैभन्दा धेरै बाग्मती प्रदेशमा रहेका छन् ।

३६ जना मध्ये दुई जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बाग्मती प्रदेशमा २१ जना बिरामी सघन उपचार कक्षमा अनि एकजना भेन्टिलेटरमा रहेको जनाइएको छ । प्रदेश–२ मा सातजना बिरामी आइसीयुमा छन् भने प्रदेश–१ मा तीनजना आइसीयु र एकजना भेन्टिलेटरमा छन् । प्रदेश–५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक–एकजना बिरामी सघन उपचार कक्षमा उपचाररत छन् ।

गम्भीर बिरामीको संख्या बढ्नुमा कोरोना समुदायमा फैलिन थालेको पुष्टि हुने विज्ञहरुको दावी छ । पछिल्लो समय प्रदेश–२ र १ मा मृतकको संख्या बढिरहेको छ । यसअघि क्वारेन्टाइनमा युवा समुह रहेकाले उनिहरुको प्रतिरोधक क्षमता मजबुत भएकाले गम्भिर विरामी कम थिए । विस्तारै समुदायमा संक्रमण फैलँदा प्रतिरोधी क्षमता कम भएका अनि वृद्धवृद्धापनि चपेटामा पर्ने हुँदा आगामी दिनमा गम्भीर बिरामीको संख्या बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

योसँगै देशभरि अस्पतालहरूमा आइसीयु तथा भेन्टिलेटरका सुविधा बढाउनुपर्ने खाँचो औँल्याइएको छ । सोमवारसम्मको आँकडा अनुसार देशभरि हाल कुल संक्रमितको संख्या २० हजार ७५० छ भने ५७ जनाको ज्यान गएको सरकारी तथ्यांक छ । निको हुनेहरू घटाउँदा सक्रिय संक्रमितको संख्या हाल ५ हजार ७३२ रहेको छ ।

प्रदेश–२ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारी चालक र दुईजना कार्यालयकै अन्य कर्मचारी गरी छ जनासहित ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जनामा कोरोना संक्रमण फेला परे । काठमाडौंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७०२:११

‘लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो’