युरोपेली च्याम्पियन्स लिग फुटबल यसै हप्ता फर्कंदै !

कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन्। युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो। अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

च्याम्पियन्स लिगका अन्तिम आठका खेलहरु आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ। कोरोना महामारीको कारण स्थगित भएका अन्तिम-१६ का बाँकी खेल भने ८ र ९ अगस्टमा हुनेछ। यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।

युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरू बिना नै दुबै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरु कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिनुभयो ।

प्रकाशित : बुधबार, साउन २१, २०७७१६:२४

च्याम्पियन्स लिग: युभेन्टस अफ १६ चरणबाट बाहिरियो !