वीरगन्ज बन्यो कोरोनाको केन्द्रविन्दु: आज अहिले सम्मकै बढी भेटिए !

काठमाडौँ – वीरगन्जमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बुधबार वीरगन्जमा अहिले सम्मकै बढी १ सय ३३ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन्।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा यति धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताइएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार कोरोना पुष्टि हुनेहरु १७ जना बारा जिल्लाका र अन्य पर्सा जिल्लाका रहेका छन्।बुधबार कोरोना भाइरस संक्रमणको पुष्टि हुनेहरु ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको नारायणी अस्पतालले जनाएको छ।

कोरोनाको केन्द्रविन्दु बनेको पर्सामा कोरोनाका कारण बुधबार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष रहेका छन्। जसमध्ये युवतीको निधन पछि कोरोनाको पुष्टि भएको हो भने पुरुषको नेसनल मेडिकल कलेजमा भर्ना गर्ने तयारी हुँदै गर्दा निधन भएको हो।

सरकारले लकडाउनको अन्त्य भएको घोषणा गरेपछि पर्सा सहितका जिल्लाहरुमा कोरोना भाइरस संक्रमितहरुको संख्या लगातार बढिरहेको छ। कोरोनाको केन्द्रविन्दु बनेपछि स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वमा छुट्टै उच्चस्तरीय टोली खटाएको छ।

प्रकाशित : बुधबार, साउन २१, २०७७०९:४४

ललितपुर केन्द्रविन्दु बनाएर भूकम्प, उपत्यकामा कडा धक्का !