काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कसैको गुटमा नलाग्ने स्पष्ट पारेका छन्। भैंसेपाटी स्थित गौतम निवासमा भेट्न पुगेका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू कसैको गुटमा नलाग्ने बताएका हुन्।
मंगलबार बिहान उपाध्यक्ष तथा संगठन विभागका प्रमुख वामदेव गौतमसँग प्रचण्डले भेटघाट गरेको र त्यसक्रममा गौतमले आफू कसैको गुटमा नलाग्ने भन्दै प्रचण्डलाई बिदा गरेको गौतमका सहयोगी विश्वमणि सुवेदीले जनाएका छन्।
प्रचण्ड र गौतम बीच मंगलबार भएको भेटघाटलाई लिएर विभिनन टिका-टिप्पणी शुरु भएपछि गौतमका सहयोगी विश्वमणि सुवेदीले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन्।
उक्त भेट बारे स्पष्ट पार्दै विश्वमणि सुवेदी फेसबुकमा यसो लेख्छन् –
स्पष्ट पारिएको बारे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क.पुष्पकमल दाहाल (प्रचण्ड) ले साउन २० गते मंगलबार विहान पार्टी उपाध्यक्ष तथा संगठन विभागका प्रमुख क.वामदेव गौतमसँग गर्नुभएको भेटका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
उक्त भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो ।
उक्त भेटका सन्दर्भमा विभिन्न किसिमका चर्चा, परिचर्चा गरिए पनि वास्तविकता निम्नानुसार मात्र भएको स्पष्ट पारिन्छ ।
स्मरणीय छ कि,साउन १३ गते उपाध्यक्ष क.वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राख्नुभएको प्रस्तावउपर सोही दिन पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसक्नुभएको थियो ।
२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा
उपाध्यक्ष क.वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पार्नुभयो ।
क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो ।
उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।विश्वमणि सुवेदी
उपाध्यक्ष क.वामदेव गौतमको सहयोगी