नेकपाको विवाद नयाँ चरणमा, पार्टी फुट्ने प्रचण्डको स्पष्ट संकेत !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद समानन्तर गतिविधिमा केन्द्रीत हुन थालेको छ । फुटको संघारमा पुगेर फेरी पछाडी फर्किएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल गुट अब समानन्तर अभियान चलाउने रणनीति अख्तियार गर्न थालेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजिनामा मागेपछि शुरु भएको पछिल्लो विवाद अहिलेसम्म आइपुग्दा समान्तर अभियानमा पुगेको हो । राजिनामा माग गरेपछि दुई गुट विभाजन हुने अवस्थासम्म पुगेका थिए । अविश्वास यतिसम्म थियो, कि दुवै पक्षले पटक पटक राष्ट्रपतिलाई समेत भेटेका थिए । राजिनामा माग गरेपछि दवावमा देखिएका ओलीले तत्कालै आफु निकट विद्यार्थी र युवाहरुलाई परिचालन गरी सडकमा प्रर्दशन गराएका थिए ।

प्रर्दशनका क्रममा भारतीय दलाल र राष्ट्रवादी भन्दै चित्रण गरेकोमा सो गुटको आपत्ति थियो । त्यसबाट प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुट चिढिएको थियो । त्यसअघि भैसेपाटीबाट प्रचण्ड–नेपाल समुहले गुट निर्माण गरेपछि ओली सो गुट भत्काउन निरन्तर लागिरहेका थिए । शुरुमा नसकेपनि पछिल्लो समय भने उनि सो गुट भत्काएर पार्टीको माथिल्लो निकायमा पकड मजबुत बनाउदै लगेका छन् ।

उपाध्यक्ष बामदेव गौतमले शुरुमा ओलीविरुद्ध आफ्नै निवासबाट गुट बनाएपनि पछिल्लो विवादमा उनले फेरी ओलीलाई साथ दिएका छन् । जसका कारण प्रचण्ड–नेपाल गुट पार्टीभित्र दवावमा छ । विवादको शुरुमा बहुमतमा देखिएको यो गुट विस्तारै घट्न थालेपछि चिन्तामा परेको बताइएको छ । ओलीलाई जसरी पनि हटाउने रणनीति अख्तियार गरेको प्रचण्ड–नेपाल गुट पछिल्लो समय सेलाउनु र ओलीको आक्रमक रणनीतिले गर्दा के गर्ने भन्नेमा दुवै गुट अलमलमा छन् ।

पार्टी एकता कायम गर्नुपर्छ भन्ने विचार बोकेर तेस्रो भिन्नै धार नेकपाभित्र बलियो छ । यो तेस्रो गुट जुन पक्षतिर लाग्छ त्यही पक्षको बहुमत पुग्ने देखिएको छ । जसले गर्दा ओली र प्रचण्ड गुट न त एकतालाई मजबुत बनाउन सक्छन् न त एकले अर्कालाई परास्त गरेर अगाडी बढ्न सक्छन् । तेस्रो गुट पनि आफ्नो स्वार्थ अनुसार कहिले ओली त कहिले प्रचण्ड–नेपाल गुटमा जाने गरेको देखिएको छ । जसले गर्दा दुवै गुट सशंकित छन् ।

सहमति गर्नका लागि निरन्तर वार्ता गरेपनि जहाबाट शुरु गरेको वार्ता अन्तिमसम्म आइपुग्दा सोही ठाउमा आउने गरेको छ । अध्यक्षद्वयको वार्ता पछिल्लो समय सचिवालय बैठक बोलाउने कि स्थायी कमिटी भन्नेमा अड्किएको छ । सम्बन्ध चिढिएपछि दुई अध्यक्ष वार्तामै बस्न छाडेका थिए । दोस्रो तहका नेताको मध्यस्थतामा पछिल्लो समय वार्ता भईरहेको छ ।

ओलीले सडकबाट प्रर्दशन थालेपछि चिढिएको प्रचण्ड–नेपाल गुटले पनि बुधबार राजधानीमा आफु निकट पत्रकारसंग छलफल गरेको छ । छलफलमा अब कसरी जाने र पार्टी भित्र ओलीले गर्दै आएका एकल निर्णयका बारेमा बताएका थिए । दुवै गुटले पार्टीभित्र आ–आफ्ना एजेण्डा स्थापित गराउन आफ्ना समुह परिचालन गर्न थालेका हुन् । जसले गर्दा एकता भन्दा पनि एउटा पार्टी दुई वटा गुट जस्तो देखिने सम्भावना रहेको राजनीतिक विश्लेषकहरु बताउछन् ।

राजधानीको एक कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुने स्पष्ट संकेत दिएका छन् । उनले ओली एकलवादी निर्णय गर्दै गएको र पार्टीको निर्णय नमानेका कारण एकतामा गम्भिर संकट परेको बताए । ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ’, प्रचण्डको भनाई थियो ।

पत्रकारसँग उपस्थित भएका प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीसँग पदको भने लडाई नभएको जिकिर गरे । शुरुमा राजिनामा माग गरेका उनिहरुले पछिल्लो समय आफुहरुलाई पदका लागि लडेको सन्देश गएकोमा भने असन्तुष्टि पोखे । ‘अहिलेको बहस पार्टीलाई विधि, पद्धती, विचारका आधारमा चलाउने हो कि पार्टी भनेको केही होइन, एकपटक निर्वाचित भएपछि नेता नै सबथोक हो भन्ने बहस हो’, प्रचण्डको भनाई छ ।

पत्रकारसँग छुट्टै गोप्य रुपमा छलफल गरेको भन्दै ओली गुटले पनि असन्तुष्टि जनाएको छ । ओली पक्षका नेता एंव प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद भएको बताए । ‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो’,

उनले अगाडी भने,‘पार्टी एकताको रक्षा गर्न नेताहरु पुनः सम्वाद र सहमतिमा फर्कनुको विकल्प छैन ।’
ओली गुटले पछिल्लो पटक देशभरी जनताको बहुदलिय जनवादका नाममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जसले गर्दा अर्को गुट संसकित बनिरहेको छ । प्रचण्ड–नेपाल गुटले ओलीकै सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको आरोप समेत लगाउदै आएको छ । जसले गर्दा नेकपाको विवाद अब झनै संकट तर्फ जाने देखिएको छ । यद्यपी दुई अध्यक्षबीच देखिएको विवाद कम गर्न विहिवार विहान पुनः वार्ता हुने बताइएको छ ।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०१:०९

समूह–समूहमा फैलियो कोरोना, भारतबाट नेपाल आउन रोक नलगाए स्थिति भयाभह हुने !