काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। दैनिक संक्रमितको संख्यामा भइरहेको उच्च वृद्धिसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख २५ हजार नाघेको हो।
गएको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी संक्रमित फेला परेका छन्। सार्वजनिक एक तथ्यांकका अनुसार भारतमा गएको २४ घण्टामा ६२ हजार १ सय ७० जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। यो संख्या अहिले सम्मकै उच्च हो।

पहिल्लो केहि दिन देखि भारतमा विश्वकै बढी कोरोना भाइरस संक्रमित फेला परिरहेका छन्। दैनिक संक्रमण संख्यामा भारतले अमेरिका र ब्राजिललाई समेत उछिनेको अवस्था छ।
बितेको २४ घण्टामा भारतमा ६२ हजार भन्दा बढी संक्रमित फेला पर्दा अमेरिका र ब्राजिलमा क्रमश ५८ हजार र ५४ हजार संक्रमित फेला परेका छन्।

यस्तै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ। त्यहाँ गएको २४ घण्टामा ८ सय ९९ जनाले ज्यान गुमाएका छन्। जससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ।
कति निको भए ?

भारतका कुल संक्रमित मध्ये करिब ६८ प्रतिशत संक्रमित निको भईसकेका छ। यो समाचार तयार पार्दा सम्म त्यहाँ निको हुने संक्रमितको संख्या १३ लाख ७७ हजार ३ सय ८४ पुगिसकेको छ। जबकी त्यहाँ सक्रिय संक्रमित संख्या ६ लाख ६ हजार मात्र छ।

