आज रातीबाट काठमाडौँका यी क्षेत्र सिल, लकडाउनमा भन्दा कडा नियम लागू !

काठमाडौँ – मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न काठमाडौँ उपत्यकामा लकडाउन भन्दा कडा नियमहरु लागू गर्न लागिएको छ।

उपत्यका बाहिरबाट आएका धेरैमा कोरोना देखिएको र समूदायमा समेत सर्ने जोखिम देखिसँगै संक्रमणको उच्च जोखिम भएका क्षेत्र र संक्रमण देखिएका क्षेत्रमा लकडाउन भन्दा कडा नियमहरु लागू गर्न लागिएको हो।

उपत्यकाभित्रका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार शुक्रबार राती देखि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्यूरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र पूरै सिल गरिनेछ । सिल गरिएको क्षेत्रमा लकडाउन भन्दा बढी कडाई गरिने बताइएको छ।

शुक्रबार भएको बैठकले उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा भिडभाड हुँदा कोरोना फैलिने जोखिम उच्च हुने निष्कर्ष निकालेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन्।

साथै बैठकले उपत्यकाका सम्पूर्ण क्वारेन्टाइन स्थलहरुलाई आइसोलेसन बनाउने निर्णय पनि गरेको छ। अब क्वारेन्टाइन बनाइएका होटलहरुलाई आइसोलेसनमा परिणत गरिनेछन्।

काठमाडौंमा कोरोनाको संक्रमण बढ्न थालेपछि अस्पतालहरुको आइसोलेसनले धान्न नसक्ने देखिएपछि क्वारेन्टाइन स्थलहरुलाई आइसोलेसन बनाउन लागिएको दाहालले बताए।

काठमाडौँ उपत्यकामा आवागमनमा कडाइ गरिएको छ भने जोरबिजोर प्रणाली लागू गरिएको छ । मास्क नलगाउने र स्वास्थ्य मापदण्डअनुसारको काम नगर्नेलाई कारवाही थालिएको दाहालले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड नअपनाउने व्यावसायिक प्रतिष्ठान बन्द गर्ने चेतावनी दिइएको छ ।

गृह मन्त्रालयले यही साउन २१ गते ७७ वटै जिल्लामा सूचना जारी गरी सङ्क्रमण रोक्न र भीडभाड कम गर्न निर्देशन दिइसकेको छ । यस्तै २०० भन्दा बढी सङ्क्रमण्मा देखिएको जिल्लाका शहरी क्षेत्रमा समेत यातायतामा जोरबिजोर प्रणाली लागू गर्न थालिएको छ ।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७११:५७

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित !