काठमाडौँको ‘कोटाल टोल’ सिल

काठमाडौँ – काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ ।

महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिए। प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए। सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा छ । शुक्रबार मात्रै उपत्यकामा १०० भन्दाबढीमा कोभिड–१९ सङक्रमण भएको थियो । सङ्क्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।

प्रकाशित : शनिबार, साउन २४, २०७७११:१४

सात जिल्लामा कोरोना सङ्क्रमित शून्य