नेकपामा पुनः टुट्यो सम्बाद: जति मिलाउन खोज्दा नमिलेपछि विवादले दिक्क भए दोस्रो तहका नेता !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवेन्द्र पौडेलले केही दिन अघि दुई वटा फोटो राख्दै सामाजिक सञ्जालमा लेखे,‘कति तनाव लिनु, आफू त लागियो गाउँघर तिर ।’ उनको यो भनाई नेकपाका शिर्ष नेतामा देखिएको विवाद लक्षित थियो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नेकपाका शिर्ष नेता असार १६ गतेपछाडी विवादमा फसेका छन् । जसका कारण दुई गुट एकअर्कालाई सिध्याउने गरी अहिले पार्टीभित्रको मैदानमा उत्रिएका छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल गुट सक्रिय छन् । यी दुई गुटबीच अहिले पद जोगाउन र प्राप्ती गर्नका लागि चलिरहेका खेलका कारण उच्च तनाव छ । असार १६ गतेको स्थायी कमिटी बैठकमा एजेण्डा बिना दाहाल–नेपाल समुहले ओलीको दुवै पदबाट राजिनामा माग गरेपछि विवाद शुरु भएको थियो । सो विवाद मिलाउन दोस्रो तहका नेताहरु विभिन्न चरणमा सक्रिय भए र भईरहेका छन् ।

ठोस आधारबिना पार्टीभित्रको कुनै छलफलमा सहभागी हुदैनौंः ओली गुट
पार्टीका बैठकबाट अब कोहीपनि भाग्न पाउदैनः दाहाल–नेपाल गुट

उनिहरुले शिर्ष नेताहरुबीच वार्तालाई सहमति नजिक पु¥याएका पनि थिए । तर, भोलीपल्ट विहान नहुदै सो सहमति तोडिन्थ्यो । पटक पटकका वार्ता यस्तै भएपछि दिक्क भएर पौडेलले सो भनाई सामाजिक सञ्जालमा राखेका हुन् । ओली निकट मानिएका अर्का नेता एंव पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको स्टाटस पनि उस्तै छ । उनले पनि लेखेका छन्, ‘०५४को झझल्को पो आउन थाल्यो त नेकपामा । बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ ।’

नेकपाको विवाद यो चरणमा पुगेर अहिले फेरी बोलचाल नै बन्द भएको अवस्थामा पुगेको छ । यद्यपी दोस्रो तहका केही नेता अहिलेपनि दुई अध्यक्षबीच वार्ता गराउन सक्रिय भने छन् । साउन २१ गते दाहाल–नेपाल समुहले राजधानीको एक कलेजमा आफु निकट पत्रकार बोलाएर भेला गरेपछि वातावरण थप बिग्रिएको हो । उसो त ओली पक्षले सडकमा जुलुस र त्यसपछि मदन भण्डारी फाउन्डेसनको नाममा देशका विभिन्न भागमा ‘जनताको बहुदलिय जनवाद’ विचारलाई अगाडी बढाईरहेको छ । जसले गर्दा दुवै गुट अहिले समानान्तर गतिविधि गरिरहेका र एक अर्को पक्षसँग चिढिरहेका छन् ।

दुवै पक्ष एकले अर्कोलाई आरोप लगाउदै वार्ता छाडेर सार्वजनिक मञ्चमा उत्रिएपछि दोस्रो तहका नेता पनि शिर्ष नेतालाई सहमतिमा ल्याउने प्रयासबाट थाकेका हुन् । पछिल्लो पटक ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र दाहालका तर्फबाट वरिष्ठ नेता झलनाथ खनालले वार्ताको संयोजन गरिरहेका थिए । तर, गत बुधबार दाहाल–नेपाल समुहका चार नेताले ओलीविरुद्ध पत्रकार सामु अभिव्यक्ति दिएपछि अर्को गुट चिढिएको छ ।

प्रधानमन्त्री ओलीले अब ठोस आधारबिना पार्टीभित्रको कुनै छलफलमा सहभागी नहुने अडान लिएका छन् । पार्टीभित्रको विवाद समाधानका लागि पछिल्ला दिनमा जारी छलफल औचित्यहिन भएको भन्दै ओली पक्ष यस्तो निष्कर्षमा पुगेको हो । अर्का अध्यक्ष दाहालसंग लगातार भएका छलफल ठोस आधारबिना भएको बताउदै ओली पक्षले यसलाई रोकेर आधारसहितको छलफलमा मात्र सहभागी हुने स्पष्ट पारेको छ । ओली निकटस्रोतका अनुसार दुई अध्यक्षबिचको छलफल एजेण्डाका बिषयमा नभई अन्य बिषयतर्फ मोडिएकाले आफुहरु त्यसमा नअल्झने जानकारी दियो ।

पार्टी एकताको मर्म र भावना बिपरित गुटगत भेला र पत्रकार सम्मेलन गरेपछि अध्यक्ष ओली निक्कै असन्तुष्ट बनेका हुन् । ‘बिधि र पद्धतीको कुरा गर्नेहरुनै होटल होटलमा भेला र पत्रकार सम्मेलन गर्दै हिडेका छन् । यसले पनि कसको के चाहाना हो भन्ने स्पष्ट पारेको छ । हामी उत्तेजनामा नआई पार्टीभित्रको समस्या समाधानका लागि परेका छौ’, ओली निकट ति नेताले भने ।

पार्टीका जिम्मेबार नेताहरु नै गुटगत राजनितिमा रमाईरहेकाले पार्टीमा समस्या आएको ओली निकट एक नेताले बताए । माहामारीको बढ्दो प्रभावका कारण केन्द्रीय कमिटिको बैठक पनि नहुने स्पष्ट पारे । सहमति नभई माथिल्ला निकायलाई अलपत्र छाडेर केन्द्रीय कमिटी बैठक बस्न नसक्ने उनको भनाई छ । कठिन परिस्थितीमा पार्टीभित्रैबाट सरकारलाई समस्यामा पारेर बदनाम गर्ने प्रयासप्रति ओली सचेत रहेको ती नेताको भनाई छ । पार्टीभित्रको अन्तरबिरोध बिधि र पद्धतीको नभएको स्पष्ट भईसकेकाले बखेडा झिक्ने शक्तिहरु कमजोर हुदै गएको ओली पक्षको आंकलन छ ।

यता दाहाल–नेपाल गुटले भने ओली पक्ष पार्टीको बैठकबाट भाग्न नपाउने बताउदै आएको छ । अब जतिपनि निर्णय छन् सबै बैठकबाटै हुने भन्दै त्यसबाट कोही पनि भाग्न नपाउने अडानमा छ । प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक सुचारु गरेर सचिवालयबाट गृहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं’, उनले भन, ‘सबैजना बैठकमा उपस्थित भएर आ–आफना बिचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकता अनुसार शीर्ष नेताहरु र सचिवालयमा पनि गृहकार्य गरौं ।’

अध्यक्ष दाहाल भने ओलीसँगको वार्तालाई छाडेर आफुसँग रुष्ट भएरका नेता फकाउनेतर्फ क्रियाशिल रहेका छन् । पूर्वमाओवादीका नेताहरुले नै आफुहरुलाई वेवास्ता गरेर दाहालले पूर्व एमालेका नेतालाई च्यापेर हिडेको भन्दै रोष प्रकट गरिरहेका छन् । अहिले दाहाल तिनै नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयासमा रहेको बताइएको छ ।

अर्का एक नेताका अनुसार दुई गुट नै अहिले अर्को पक्षले पार्टी छाडेर जाओस् भन्ने मनस्थितिमा रहेका छन् । नेकपालाई एकतावद्ध राख्नुपर्छ भनेर लविङ गरिरहेका ति नेताका अनुसार अब दुई गुटलाई मिलाउन नसक्ने बताए । विगतमा गरिएका धेरै प्रयास सकरात्मक हुने तर वार्ताबाट बाहिरिएको केही समयमा पुनः विवाद पहिलाकै ठाउमा आईपुग्ने गरेको उल्लेख गरे । उनिहरुको विचारमा दुई गुट नै पार्टी फुटाएको गम्भिर आक्षेप लाग्ने भएका कारण अलग हुन नसकेको दावी गरे ।

साउन १३ गते स्थायी कमिटीको बैठकको विषयलाई लिएर दुवै गुटले परस्पर विरोधी निर्णय गरेपछि विवाद चुलिएको हो । यद्यपी दुवै पक्षले आ–आफ्नो तरिकाले जारी स्थायी कमिटीको बैठक अनिश्चिकालका लागि स्थगित भने गरेका छन् । तर, अब बैठक कसरी बस्ने वा टुंग्याउने भन्नेमा विवाद छ । ओली पक्षले सचिवालय बैठकमा सहमति गरेर स्थायी कमिटीमा जानुपर्ने अडानमा छ भने दाहाल–नेपाल पक्ष भने स्थायी कमिटी हुदै केन्द्रीय कमिटी बैठकमा जानुपर्ने अडान राखिरहेको छ ।

प्रकाशित : आइतबार, साउन २५, २०७७०३:०६

सुनको व्यापार ठप्प: व्यवसायी पसल कुर्छन्, ग्राहक भाउ बुझेर फर्किन्छन् !