काठमाडौँ, साउन २८ । साउनको पहिलो हप्ता देखि कुनै पनि दिन नघटेको सुनको मूल्य साउन २५ गते यता भने लगातार घटिरहेको छ। मंगलबार ८ सय रुपैयाले घटेको सुनको मुल्य आज एक्कासी ६२ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैंयामा कायम भएको छ।
साथै आज तेजाबी सुनको मूल्य पनि ६२ सय रुपैंयाले नै घटेको छ । आज तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै सोमबारको तुलनामा चाँदीको मूल्य ह्वातै घटेको छ। आज चाँदी प्रतितोला २ सय २५ रुपैंयाले घटेको छ। आज चाँदीको मूल्य १२ सय १० रुपैया पुगेको छ।
अन्तरराष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य आज विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनले बताए।