काठमाडौँ, साउन २८ । खुट्टामा चाेट लागेर ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । खुट्टा फ्याक्चरको समस्याले अस्पताल भर्ना भएका ७७ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो।
उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २६ गते राति रिफर गरेकाे थियाे।अस्पताल भर्ना हुदा उनमा रिंगटा लाग्ने समस्या देखिएकाे थियो । किस्ट अस्पतालको आइसियूमा उपचाररत उनको बुधबार बिहान ४ बजे मृत्यु भएको थियो र रिपोर्ट भने दिउँसो १ बजे मात्र आएको हो ।
यस वर्ष इन्द्रजात्रामा भीडभाड रोकिने
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको इन्द्रजात्रामा हुने भीडभाड नगर्ने निर्णय गरेको छ । कार्यालयमा मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले इन्द्रजात्रा, हरितालिकालगायत चाडपर्वमा हुने सबै किसिमका भीडभाड नगर्न सरोकार भएका सबै निकायलाई आह्वान गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो ।
बाहिर हुने भीडभाडका कार्यक्रम रोकिए पनि घरभित्र हुने जात्राका विधि भने गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले मठमन्दिरलगायत जात्रापर्वका भीडभाड रोक्ने निर्णय गरेको हो । इन्द्रजात्रा चलाउँदै आएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदी पनि जात्रा गर्ने वातावरण यस वर्ष नभएको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालयको निर्णय प्राप्त भएपछि विधि भने पूरा गर्ने गरी काम गरिने उहाँको भनाइ छ । यस वर्ष इन्द्रजात्राको लिङ्गो गाड्ने साइत आगामी भदौ १४ गते बिहान ७.०७ बजे र जात्राको मुख्य दिन भदौ १६ गते तोकिएको छ ।