कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं उपत्यका, लकडाउन गर्न दबाव बढ्यो !

काठमाडौं । देशको सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यका विस्तारै कोरोना हटस्पटका रुपमा विकसित हुन थालेको छ । काठमाडौंमा हाल दैनिक एक सयदेखी एक सय ८० जनासम्म संक्रमित भेटिन थालेका छन् । हरेक पालिकाले आ–आफ्नो क्षेत्रमा लकडाउन गरेपनि मानिसहरुको आवतजावत रोकिएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

साउनको पछिल्लो तीन साताको विश्लेषण गर्ने हो भने प्रत्येक साता संक्रमित दोब्बरले बढ्दै गईरहेका छन् । साउनको १० देखी १६ गतेसम्म १५० संक्रमित फेला परेका थिए । तर, त्यसको एकसातापछि अर्थात साउन १७ देखी २३ गतेसम्म यो संख्या बढेर झण्डै ३५० नजिक पुग्यो । साउनको अन्तिम साता संक्रमित बढेर करिव आठसयको हाराहारीमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवारमात्रै उपत्यकामा १७२ नयाँ संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा आइतवारसम्म १ हजार ७२२ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढि काठमाडौंमा १ हजार ४२९, ललितपुरमा १९३ र भक्तपुरमा १०० जना रहेका छन् ।

संक्रमित बढ्न थालेपछि उपत्यकाका अधिकाशं पालिकाहरुले आ–आफ्नो क्षेत्रमा लकडाउन गर्न थालेका छन् । मानिसमा बढेको अटेरी र प्रशासनले कडाई गर्न नसक्दा कोरोना संक्रमण उपत्यकामा बढिरहेको हो । समुदायस्तरमा समेत विस्तारै संक्रमण फैलिदै गएपछि पालिकाहरुले आ–आफ्नो क्षेत्रमा लकडाउन गर्दै कडाईका साथ पालना गर्न आग्रह गर्दै माइकिङ गरिरहेका छन् । तर, माइकिङ गर्दा पसलहरु बन्द गर्ने र प्रहरी गएको केही समयपछि पुनः पसलहरु खोल्ने गरेको पाइएको छ ।

उपत्यकामा पछिल्लो पटक चालिएको कदमलाई जनस्वास्थ्यविद्हरूले सकारात्मक रूपमै लिएका छन् । तर त्योसँगै थप कामहरू पनि गर्नुपर्ने आवश्यकता औँल्याएछन् । अहिले कोरोनाभाइरस संक्रमितलाई मात्रै हेर्ने ‘डेडिकेटेड’ अस्पतालको व्यवस्था, गम्भीर बिरामीका लागि अति सघन उपचार कक्षको व्यवस्था र वडावडामा आइसोलेशनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि सरकारले निजी क्षेत्रका अस्पतालहरूसँग मिलेर अघि बढ्नुपर्ने सुझाव छ । कोरानाभाइरस संक्रमितलाई ध्यानमा राख्दै सरकारले निजी क्षेत्रका अस्पतालहरूलाई २० प्रतिशत शय्या छुट्ट्याउन भने पनि त्यो कार्यान्वयनमा आएको देखिएको छैन । राज्यले पूरा गर्नुपर्ने दायित्वसँगै आमनागरिकले पनि अहिलेको महामारी नियन्त्रणमा आफ्नो तर्फबाट सघाउनुपर्ने जनस्वास्थ्यविद्हरू सुझाउँछन् ।

सरकारले साउन पहिलो साता लकडाउन खुकुलो बनाएपछि मानिसहरूले बजार, पसलहरूमा अनावश्यक भिडभाड गर्ने गरेको, सामाजिक दूरी कायम नगरेको र कतिपयले मास्क समेत नलगाउने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले मानिसहरूले पनि आफ्नो आनीबानी सुधार्नुपर्ने बताए । ‘खोप नआएसम्म यो भाइरसबाट जोगिने उपाय अवलम्बन गर्दै जिउनुपर्ने हुन्छ’, उनले भने ।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०२:३७

पार्टी भित्रको ‘लफडा’ मिलाउन मन्त्रिमण्डल हेरफेर, यी प्रदेशका मुख्यमन्त्री पनि फेरिने !